साफ महिला च्याम्पियनसिप

साफ महिला च्याम्पियनसिपः पहिलो हाफमा नेपालको सहज अग्रता

काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत श्रीलंकविरुद्धको पहिलो हाफमा नेपालले ४-० को अग्रता बनाएको छ ।

खेलको सुरुआतदेखि नै श्रीलंकामाथि बलियो पकड बनाएको नेपालले १०औं मिनेटमा रश्मीकुमारी घिसिङको गोलबाट अग्रता बनाएको थियो । रश्मीको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । हिराकुमारी भुजेलले लेफ्ट साइडबाट गरेको क्रसलाई रश्मीले हेडमार्फत जाली चुमाइन् ।

त्यसको अर्को मिनेटमै सरु लिम्बुको गोलबाट नेपालले अग्रता दोब्बर पार्यो । पुनम जर्गामगरले लेफ्ट साइडबाट क्रसमा सरुले पनि हेडर गोल गरिन् ।

खेलको १८औं अमृता जैसीले गोल गर्दै नेपालको अग्रतालाई ३-० मा पूर्याइन् । राइड साइडबाट अनिता बस्नेतले गरेको क्रसमा अमृताले गोल गरिन् ।

यस्तै, इन्जुरी समयमा दीपा शाहीले गोल गर्दै नेपालको अग्रतालाई ४-० मा पूर्याइन् । उनले अनिता बस्नेतको राइड साइड कर्नरमा गोल गरेकी थिइन् ।

खेलभर नेपालले करिव एक दर्जन मौका बनाएको थियो । २९औं मिनेटमा रश्मीको लेफ्टबाट गरेको क्रसमा ६ यार्ड बक्समा रहेका रेखा पौडेल र अनिता बस्नेत बललाई जालीको दिशा दिन सकेनन् ।

४०औं मिनेटमा नेपालले इनडाइरेक्ट फ्रिकिक पाएको थियो । बक्सभित्रबाट अनिता बस्नेतको प्रहारमा दीपा शाहीले गोल गरे पनि सहायक रेफ्रीले त्यसलाई अफसाइडको इशारा गरे ।

४५औं मिनेटमा अनिता बस्नेतले राइड साइडबाट गरेको क्रसलाई अनिता केसीले पोष्टको दिशा दिन नसक्दा नेपालले अग्रता अझ फराकिलो बनाउने सुनौलो मौका चुकाएको थियो ।