साफ महिला च्याम्पियनसिप

साफ महिला च्याम्पियनसिपः आज दुई खेल हुँदै

काठमाडौं । साफ महिला च्यम्पियनसिपमा आज (शनिबार) दुई खेलहरु हुँदैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी प्रतियोगितामा आज पहिलो खेलमा पाकिस्तान र बंगलादेश तथा माल्दिभ्स र भारतबीच प्रतिस्पर्धा हुनेछ ।

दिउँसो एक बजेदेखि सुरु हुने पहिलो खेलमा पाकिस्तान पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिदैछ । भने बंगलादेश आफ्नो दोस्रो जितलाई कायम राख्न चाहन्छ ।

साफ च्याम्पियनसिपमा पहिलो पटक आमनेसामने हुन लागेका यी दुई टिमले अहिलेसम्म एकअर्काविरुद्ध खेलेका छैनन् ।

चार पटक साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको बंगलादेश २०१६ मा उपविजेता बनिसकेको छ । यता, पाकिस्तान भने एक पटक मात्र सेमिफाइनल पुगेको छ ।

यो पटक युएई र इङ्ल्यान्डका एक-एक खेलाडी सम्मिलित पाकिस्तानी टिमको लक्ष्य विगतको नतिजामा सुधार गर्ने रहेको छ । आठ वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएको पाकिस्तानका मुख्य प्रशिक्षक आदिल रिज्कीले राम्रो नतिजा ल्याउन प्रयास गर्ने बताएका थिए ।

‘प्रतियोगिताको लागि हामीले राम्रै तयारी गरेका थियौ । राम्रो प्रदर्शन गर्न हामीलाई चुनौती छ,’ उनले भनेका थिए, ‘राम्रो नतिजा ल्याउन प्रयास गर्नेछौं ।’

यसैगरी बंगलादेशका मुख्य प्रशिक्षक गोलक रोबानी छोटोनले युवा र सिनियर खेलाडीको समायोजनबाट टिम राम्रो बनेको बताए ।

‘हामी प्रतियोगिताका लागि तयार छौ. । विराटनगरमा भएको पाँचौं साफपछिको लामो समयपछि प्रतियोगिता खेल्ने मौका पाएका छौं,’ उनले भने, ‘खुशी छौं । टिममा युवा र सिनियर खेलाडीको समायोजन राम्रो छ ।’

यसैगरी अपराह्न साँढे पाँच बजे भारत र माल्दिभ्सबीचको खेल हुनेछ । 

भारतसँग दुई पटक आमनेसामने भएको माल्दिभ्सले दुवै पटक नतिजा सुम्पिएको छ । २०१४ मा पहिलो भेटमा ८–० र दोस्रो भेटमा भारतले ६–० को नतिजा निकालेको थियो ।

कीर्तिमानी पाँच पटकको च्याम्पियन रहेको भारतविरुद्ध माल्दिभ्सलाई नतिजा निकाल्न निकै गाह्रो देखिन्छ । हालसम्मको इतिहास हेर्दा माल्दिभ्स सबैभन्दा कमजोर टिमको रुपमा सावित भएको छ ।