साफ महिला च्याम्पियनसिप

‘मौसमका कारण राम्रो फुटबल खेल्न सकेनौं,’ प्रशिक्षक थापा

काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत उद्घाटन खेलमा भुटानलाई ४–० ले पराजित गर्दै नेपालले सानदार सुरुआत गरेको छ ।

नेपालको जितमा सावित्रा भण्डारी र अनिता केसीले दुई–दुई गोल गरे ।

खेलपछि बोल्दै नेपालका मुख्य प्रशिक्षक कुमार थापाले टिमले दोस्रो हाफमा आफ्नो रणनीतिअनुसार खेलेको बताए ।

‘हामीले स्कोर र मौसम अनुमान गर्न सक्दैनौं । तर, प्रदर्शन राम्रो रह्यो । राम्रो फुटबल खेल्ने योजना थियो तर, मौसम कारण त्यो अलि सम्भव भएन । मन्जलीलाई हाइ फिभर हुँदा मिडमा अनिता केसी, अनिता बस्नेत, दीपा शाही सरु लिम्बुले एडजस्ट गरे,’ थापाले भने, ‘मेरो रणनीति दोस्रो हाफमा अलि अलि देखिएको थियो । त्यसमा म खुसी छु । हामी टिम नै खुसी छौं । हामी एक टिमको रुपमा खेल्छौं र आफ्नो ड्युटी पूरा गर्छौ ।’

यस्तै, खेलको ‘प्लेअर अफ दी म्याच’ चुनिएकी अनिता बस्नेतले आफू पुरानै लयमा फर्किएको प्रमाणित गर्न चाहेको र यो खेलले त्यो सन्देश दिएको बताइन् । 

‘पहिलो हाफमा हामीलाई एकदमै गाह्रो भइरहेको थियो । कम्फर्टेबल थिएनौं । सेकेन्ड हाफमा सक्सेस भयौं । गोल सोचेभन्दा पनि उत्कृष्ट भयो । पछिल्लो समय म कम्फर्टेबल थिइन । मलाई प्रुभ पनि गर्नुथियो, म पुरानै लयमा फर्किएको छु भन्ने । त्यसलाई प्रमाणित पनि गरे,’ बस्नेतले भनिन् ।

यस्तै, भुटानी टिमका सहायक प्रशिक्षक टंकमाया घलेले भुटानी टिमलाई नेपालको स्तरमा आउन धेरै समय लाग्ने बताइन् ।

‘हामीले राम्रो गरेको हो तर हामीले जित निकाल्न सकेनौँ । यो फुटबल हो। पानी पर्यो त्यो दुखद् कुुरा हो । यसले आफ्नो पाटोमा असर त गरेको नै छ । अर्को खेलमा हामी हाम्रो बेस्ट दिनेछौं,’ भुटानी टिमका सहायक प्रशिक्षक घलेले भनिन्, ‘आज नेपालले राम्रो खेल्यो । हामी पनि क्लोजरमा आएका छौं । हामीलाई नेपालसम्मको स्तरमा आइपुग्नका धेरै समय लाग्छ । नेपाल बलियो थियो । उसको स्पिड पनि राम्रो थियो ।’

नेपालले प्रतियोगितामा अब शनिबार श्रीलंकाविरुद्ध खेल्नेछ ।