राष्ट्रव्यापी अन्तर वडा टेबल टेनिस

गोदावरी र भक्तपुर फाइनलमा

काठमाडौं । गोदावरी नगरपालिका वडा १ र भक्तपुर नगरपालिका वडा २ दोश्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिताको महिला टिम इभेन्टतर्फ फाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा वडा १ ले भक्तपुर नगरपालिका वडा ५ तथा भक्तपुर नगरपालिका वडा २ ले ललितपुर महानगरपालिका वडा २ लाई समान ३-२ को सेटमा पराजित गरे ।

प्रतियोगिताको नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा माल्दिभ्समा गत मे ९ देखि ११ तारिखसम्म भएको दक्षिण एसियाली जुनियर तथा क्याडेट टेबलटेनिस च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई सम्मान गरिएको थियो । 

सम्मानित हुने खेलाडीमा संयोग कपाली, रुविन महर्जन, शुभश्री श्रेष्ठ, वियन्का राई, इभाना थापा मगर, प्रिन्स थापा र प्रज्ज्वल मानन्धर रहेका छन् । उक्त प्रतियोगितामा नेपालले विभिन्न स्पर्धामा १ रजत र ४ कांस्य पदक जितेको थियो । शुभश्री र वियन्काले रजत जितेका थिए भने बाँकीले कांस्य हात पारेका थिए ।

प्रतियोगितामा पुरुष÷महिला सिंगल्स र टिम तथा भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि गरी जम्मा ७ स्पर्धामा प्रतिस्पर्धा भइरहेको प्रतियोगिता संयोजक समेत रहेका आयोजक स्पिनका सचिव ज्याकी महर्जनले जनाएका छन् ।