फुटबल

झाडीमा पिसाब गर्ने गोलकिपरलाई रातो कार्ड

लन्डन । एफए कप पहिलो चरणको छनोटअन्तर्गतको एक खेल दौरान शनिबार मैदानको बारको रुपमा रहेको झाडीमा पिसाप गरेको कारण एक गोलकिपरले रातो कार्ड सामना गरेका छन् ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएअनुसार इङ्लिस फुटबल पिरामिडमा नवौं डिभिजनको टोली ब्ल्याकफिल्ड एन्ड लाङ्ग्लीका गोलकिपर कोनर मासेकोलाई झाडीमा पिसाव गरेवापत रातो कार्ड देखाइएको हो ।

स्टेफन मालेटविरुद्ध गोलरहित बराबरीमा टुंगिएको खेलको ७६औं मिनेटमा उनले सोझै रातो कार्ड सामना गरेका थिए । बल गोलकिकका लागि बाहिरिएको बला मासेकोले झाडीमा पिसाव गरेका थिए । बल बाहिरिएको बेला आफूलाई पिसावले निक्कै च्यापेका कारण बल लिन जाँदा झाडीमा पिसाव गर्ने निर्णय लिएको उनले बताएका छन् ।

झाडीमा पिसाव गर्ने क्रममा उनलाई स्टेफन मालेटका खेलाडीले देखेर रेफ्रीसमक्ष उजुरी गरेका थिए । त्यसपछि रेफ्रीले उनलाई सोझै रातो कार्ड देखाएका थिए ।

मासेकोले आफूले झाडीभित्र छिरेर पिसाब गरेको बताउँर्दै कहिलेकाँही आपतकालिन अवस्थामा जानैपर्ने’ भनेर आफ्नो बचाउ गरेका छन् । ब्ल्याकफिल्ड एन्ड लाङ्ग्लीका प्रशिक्षक कोनर म्याककार्थीले रेफ्रीको निर्णयलाई बकवास भन्दै आफूहरु त्यसबाट आश्चर्यचकित भएको प्रतिक्रिया दिए ।