आयाक्स

युनाइटेड जान चाहन्छन् एन्टोनी

लन्डन । आयाक्सका फरवार्ड एन्टोनीले म्यानचेस्टर युनाइटेड जान क्लबलाई दबाब दिइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् । एन्टोनीको ‘ड्रिम ट्रान्सफर’ सफल बनाउन एजेन्ट तथा प्रतिनिधि जारी ट्रान्सफर विन्डोसम्म इङ्ल्यान्डमै बस्ने भएका छन् ।

ब्राजिलका २२ वर्षीय फरवार्डले प्रिमियर लिगमा खेल्ने मनसाय बनाइसकेका छन् । तर, युनाइटेड र आयाक्सबीच उनको मुल्यलाई लिएर सहमति भइसकेको छैन । एन्टोनी त्यसकै प्रतिक्षामा छन् ।

हाल एन्टोनीको सरुवामा आवद्ध रहेका फोकमका प्रतिनिधि अगस्टभर लन्डनस्थित युनाइटेडको अफिस नजिकै बस्ने छन् ।

आयाक्स गत सिजन एरडिभिजी च्याम्पियन बनेको टिमका अर्का सदस्य गुमाउन चाहँदैन । गत सिजनको टिमबाट सेबास्टिन हेलर डर्टमन्ड, लिसान्ड्रो मार्टिनेज युनाइटेड र नोसेर माजारावी र रायन ग्राभेनबर्च बायर्न म्युनिखमा अनुबन्ध भइसकेका छन् ।

गत सोमबार राति भएको खेलमा लिभरपुललाई २–१ ले पराजित गर्दा युनाइटेडको रक्षापंक्तिमा प्रशंसनीय प्रदर्शन गरेका मार्टिनेजले सामाजिक सञ्जालमा ‘यो हो म्यानचेस्टर युनाइटेड’ लेखेका थिए । सोही पोस्टमा एन्टोनीले सकारात्मक प्रतिक्रिया जनाएका थिए । युनाइटेड सरुवा बजार खुल्नु अगाडिदेखि नै एन्टोनीलाई भित्र्याउने चर्चामा छ । आयाक्सका फरवार्डलाई ५०.५९ मिलियन युरो खर्चिन युनाइटेड तयार छ ।

यद्यपि, आयाक्सले त्यो प्रस्तवा अस्वीकार गरेपछि युनाइटेड फेरि ६७.४५ मिलियन पाउन्ड खर्चिन चयार भएको छ । यद्यपि, आयाक्स भने उनलाई आम्सटरड्याममै राख्न हरसम्भव प्रयास गरिरहेको छ ।