नेपाल भलिबल संघ

महासचिव पदमा छन्त्यालको उम्मेदवारी

काठमाडौं । नेपाल भलिबल संघका सचिव मनवीर छन्त्यालले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

गत महिनानै उम्मेदवारीको घोषणा गरेका छन्त्यालले राजधानीमा बिहीबार पत्रकार सम्मेलनकमार्फत उम्मेदवारीको आधिकारिक घोषणा गरेका हुन् ।

नेपाल भलिबल संघको निर्वाचन बबरमहलस्थित कार्की वन्क्वेटमा भदौ २२ गते हुने तालिका छ । जसका लागि संघकी उपाध्यक्ष निरोज मास्केले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेकी छन् ।

२०७४ सालमा बागलुङ प्रदेश प्रतिनिधिको रुपमा संघमा आएका छन्त्याल सचिव पदमा नियुक्त भएका थिए । यसअघि २०६९ मा भएको निर्वाचनमा उनी सदस्य चुनिएका थिए । ढोरपाटन प्रशिक्षण केन्द्रका अध्यक्षसमेत रहेका छन्त्यालले महिला डबल लिगको आयोजना गर्दै आएका छन् ।

संघमा ६ वर्ष बिताएका छन्त्यालले एक पद, एक ग्राउन्ड, एक रेफ्री, एक प्रतियोगिता, एक कोच, एक टिम भन्ने नारासहित आफू यस पदका लागि योग्य भएको दाबी गरे ।

‘सानो उमेरदेखी नै भलिबल खेलमा रुचि थियो । मैले राजधानी आएपछि भलिबल प्रतियोगिता हुँदा टिकट सिस्टमको सुरुआत गरेको थिए । संघमा ६ वर्ष बिताएको पनि छु,’  उनले भने, 'ममा जोस र जागर छ । भलिबलको विकासको लागि सधै तयार छु । धेरै प्रतियोगिता गरेको छु, अनुभव छ । त्यसैले यो पदका लागि योग्य छु भन्ने लागेर उम्मेदवारी घोषणा गर्ने निर्णय लिएको हु ।'

महिला र पुरुष समान २४ प्रतियोगिता गर्ने, क्षेत्रीयस्तरको प्रतियोगिता गर्ने, १२ महिना नै खेलाडी प्रशिक्षण र प्रतियोगितामा व्यस्त हुनुपर्ने छ्न्त्यालले बताए । यसैगरी उनले महासचिव पदमा आएमा राष्ट्रिय टिमको कप्तानलाई कार र संन्यास लिएका खेलाडीलाई मोटरसाइकल दिने घोषणा गरे ।

'यो पदमा आएमा म भलिबल विकासका लागि कम्मर कसेर लाग्नेछु । अरुजस्तो छन्त्याल सर आज कहाँ छ? के गरिरहेको छ? भन्ने हुदैन । म सधै मैदानमा नै हुनेछु र, भलिबलको लागि नै लागि पर्नेछु,' छन्त्यालले भने, 'सबैजना साथिहरुले राम्रो प्रतिक्रिया दिनुभएको छ । सातै प्रदेश र ७७ जिल्लाकै साथिसग राम्रो सम्बन्ध छ । त्यसैले आशावादी छु ।'

नयाँ कार्यसमितिमा आएपछि उमेर समूहको प्रशिक्षण तथा प्रतियोगिता गर्ने र युथ फेस्टिभल गर्ने योजना बनाएसकेका छन्त्यालले निर्वाचन भएको ६ महिनापछि यस कुरामा काम सुरु हुने बताउँछन् ।