पाकिस्तानी महिला फुटबल

पाकिस्तानी राष्ट्रिय फुटबल टिममा दोहोरो नागरिकता भएका खेलाडी

इस्लामबाद । फिलिपिन्सको सफलताबाट आकर्षित भएर पाकिस्तान फुटबल फेडेरेसन (पिएफएफ) ले दोहोरो नागरिकता बोकेकालाई पनि राष्ट्रिय टिममा समावेश गर्ने निर्णय गरेको छ ।

विश्वस्त स्रोतका अनुसार पिएफएफले बेलायत, ग्रीस, अमेरिका र युएईमा रहेका करिब एक दर्जन खेलाडीसँग पाकिस्तानबाट खेल्ने चाहना बुझ्न सम्पर्क गरिरहेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पनि खेलाडीलाई जन्मदेश वा हाल बसोवास गरिरहेको देशमध्ये एकलाई चुन्ने छुट दिएको छ ।

स्रोतका अनुसार देश बाहिर बस्ने दुई खेलाडी पाकिस्तानबाट खेल्न तयार छन् । जसमध्ये, युएईमा बस्दै आएका मारिया खान एक हुन् । उनले यसअघि पाकिस्तानमा राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप पनि खेलेकी थिइन् । उनले अर्को महिना नेपालमा हुने महिला साफ च्याम्पियनसिपमा पाकिस्तानको प्रतिनिधित्व गर्ने पक्का भएको छ ।

यस्तै, बेलायतमा बस्दै आएकी नादिया खानले पनि पाकिस्तानबाट खेल्ने इच्छा देखाएकी छिन् । यद्यपि, उनी साफमा पाकिस्तानको टिममा हुने नहुने बारे स्पष्ट भने भइसकेको छैन ।

‘साफसम्म नभए ओलम्पिक छनोटसम्म पाकिस्तान मुल भएका धेरै खेलाडीहरु राष्ट्रिय टिममा जोडिनेछन्,’ स्रोतले बतायो ।

हाल दोहोरो नागरिकता भएका खेलाडीबाट सबैभन्दा धेरै फाइदा उठाउने एसियाली मुलुक हो फिलिपिन्स । फिलिपिन्सले राष्ट्रिय महिला टिमले देशबाहिर रहेका तर जन्मस्था फिलिपिन्स भएको खेलाडीहरु समेट्दै इतिहासमै पहिलो पटक महिला विश्वकपसम्मको यात्रा तय गरेको थियो ।

विश्वकपको यात्रा तय गर्दा फिलिपिन्सले अमेरिकामा बस्ने १२ खेलाडीलाई राष्ट्रिय टिममा स्थान दिएको थियो । यस्तै, तीन खेलाडी बेलायतमा र दुई जापानमा बस्दै आएका थिए । फिलिपिन्समा टिममा ६ जनामात्र देशभित्र बसोबास गर्ने खेलाडी थिए ।

पाकिस्तानले वेस्ट ब्रोमको महिला टिमबाट खेल्दै आएकी मर्याम महम्मुदसँग पनि सम्पर्क गरेको छ । उनी अर्को वर्षसम्म पाकिस्तानको राष्ट्रिय टिममा आउन सक्ने सम्भावना देखिएको छ ।

फेडेरेशनले एक्टोनियन्सकी समैरा खान, स्टेभेनेजकी सकिला हुसैन र बर्मिङ्घम सिटीकी लेला बनारससँग पनि कुराकानी अघि बढाएको छ ।

यस्तै, ग्रीसकी अक्सा मुस्ताकसँगै अमेरिकामा बस्दै आएका आलिया स्कट र केला सिद्दिकीलाई पनि पिएफएफले सम्पर्क गर्न खोजिरहेको छ ।

एजेन्सीबाट