प्रदिप हुमागाईं

मुख्य प्रशिक्षक हुमागाईँ नेपाल आइपुगे

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका कार्यबाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईँ नेपाल आइपुगेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को साउन २६ गते बसेको बैठकले कार्यबाहक मुख्य प्रशिक्षकमा हुमागाईँलाई नियुक्त गरेको थियो ।

अमेरिका बस्दै आएका प्रशिक्षक हुमागाईँ बुधबार बिहान नेपाल आइपुगेका हुन् । उनलाई एन्फाका महासचिव किरण राईले स्वागत गरे ।

नेपालले असोज ११ गते बंगलादेशसँग दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्दै छ । नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुललाह अल्मुताइरी बिदामा भएकाले सोही खेलका लागि कार्यबाहक प्रशिक्षक हुमागाईँ नियुक्त भएका हुन् ।

सोही खेलका लागि सहायक प्रशिक्षकमा युगल किशोर राई र गोलकिपर प्रशिक्षकमा विनोद डंगोल पनि यसअघि नै नियुक्त भइसकेका छन् । कार्यबाहक प्रशिक्षक हुमागाईँसँगकै सल्लाहमा उनीहरुलाई नियुक्त गरिएको एन्फाले बताएको थियो ।

हुमागाईँले बंगलादेशविरुद्धको खेलका लागि ४० जना खेलाडीलाई मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा बोलाइसकेका छन् ।