महिला युरोपियन च्याम्पियनसिप २०२२

जर्मनी फाइनलमा

लन्डन । एलेक्जान्ड्रा पोपले लगाातर पाँचौं खेल सम्म गोल लयलाई कायम राख्दा जर्मनीले बिहीबार दोस्रो सेमिफाइनलमा फ्रान्सलाई २-१ ले हराउँदै महिला युरोपियन च्याम्पियनसिप २०२२ को फाइनलमा स्थान बनाएको छ ।

यसअघि समूह चरणका तीन र क्वार्टरफाइनलमा पनि पोपले गोल गरेकी थिइन । उनी महिला युरोपियन च्याम्पियनसिपमा लगातार पाँच खेलमा गोल गर्ने पहिलो खेलाडी समेत बनिन् ।

४०औं मिनेटमा पोपको गोलमा जर्मनीले अग्रता लियो । तर जर्मनीले आफ्नो अग्रता लामो समय टिकाउन भने सकेन । त्यसको चार मिनेटपछि नै डियानीको गोलमा फ्रान्स खेलमा फर्किएको थियो ।

७६औं मिनेटमा पोपले गरेको गोलमा जर्मनीले अग्रता लिएको थियो । जारी प्रतियोगितामा उनको यो छैटौं गोल हो ।

जर्मनीले आइतबार हुने फाइलनमा घरेलु टोली इङल्यान्डको सामना गर्नेछ । इङल्यान्ड बुधबार स्विडेनमाथि ४० को सहज जितसहित फाइनल प्रवेश गरेको थियो ।

साविकको विजेता नेदरल्यान्डस्लाई हराउँदै पहिलो पटक सेमिफाइनलको यात्रा पक्का गरेको फ्रान्सले जर्मनीविरुद्ध भने सो सफलता दोहोर्याउन सकेन ।