यु २० साफ च्याम्पियनसिप

यु २० साफः पहिलो हाफमा श्रीलंकासँग बराबरीमा रोकियो नेपाल

काठमाडौं । भारतमा जारी यु २० पुरुष साफ च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको पहिलो हाफमा नेपाल गोलरहित बराबरीमा रोकिएको छ ।

भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी खेलमा नेपालले तुलनात्मक रुपमा बलमाथि पकड बनाए पनि गोल भने गर्न सकेन । नेपालले खेलको २९औं मिनेटमा गोल गरे पनि रेफ्रीले त्यसअघि नै फउलको इसारा गरेपछि त्यसले मान्यता पाएको थिएन । नेपालका अजय चौधरीले गरेको प्रहार श्रीलंकाका खेलाडीबाट डिफ्लेक्ट हुँदै गोल भएको थियो ।

यस्तै खेलको ३६औं मिनेटको खेल चलिरहँदा फ्लड लाइट अफ हुँदा खेल करिब पाँच मिनेटजति रोकिएको थियो ।

लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको नेपाली टिम आयुश घलानको कप्तानीमा छ ।

यसअघि नेपालले प्रतियोगिताको पहिलो खेलमा माल्दिभ्सलाई ४–० ले पराजित गरेको थियो । एक खेलबाट तीन अंक जोडेको नेपाल तालिकाको दोस्रो स्थानमा छ । दुई खेलबाट ६ अंक जोडेको बंगालादेश शीर्ष स्थानमा छ ।

नेपालले जुलाई ३१ मा भारतसँग र अगस्ट दुईमा बंगलादेशविरुद्ध खेल्ने तालिका छ । राउण्ड रोविन लिग पद्दतिमा सञ्चालित प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल अगस्ट पाँचमा हुने तालिका छ ।