यु २० साफ च्याम्पियनसिप

यु २० साफ: दोस्रो खेलमा पनि नेपालको सानदार जित

काठमाडौं । भारतमा जारी यु २० पुरुष साफ च्याम्पियनसिपमा नेपाली यु २० टिमले लगातार दोस्रो जित निकालेको छ । नेपालले बुधबार सम्पन्न खेलमा श्रीलंकामाथि ३–० को सहज जित निकाल्यो ।

नेपालको जितमा कप्तान आयुश घलान, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले एक/एक गोल गरे ।

पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको नेपालले तीनै गोल दोस्रो हाफमा गरेको हो ।

भुवनेश्वरस्थित कालिंगा रंगशालामा सम्पन्न खेलको ५८औं मिनेटमा आयुशले गरेको गोलबाट नेपालले अग्रता लिएको थियो । राइट फ्यांकबाट अभिषेक वाइबाले गरेको क्रस श्रीलंकाका गोलकिपरबाट रिबाउन्ड आएको बललाई आयुशले जाली चुमाएका थिए । खेलको ६५औं मिनेटमा कृतिशले नेपालको अग्रता दोब्बर पारे । कृतिसले कप्तान आयुशको पासमा १८ यार्ड बक्सबाहिरबाट सुन्दर ‘चिप’ गोल गरेका थिए ।

यस्तै, निर्धारित समय समाप्त हुन ६ मिनेट बाँकी रहँदा मनग्यले तेस्रो गोल गरेसँगै नेपालले सहज जित निश्चित गर्यो । सब्सिच्युट खेलाडी मनग्यले सुगम सुवालले लेफ्ट साइडबाट गरेको क्रसलाई ६ यार्ड बक्सबाट पोस्टको दिशा दिएका थिए ।

जितसँगै दुई खेलबाट ६ अंक जोडेको नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट समान अंक जोडे पनि गोलआधारमा बंगालादेश तालिकाको दोस्रो स्थानमा छ ।

यसअघि नेपालले प्रतियोगिताको पहिलो खेलमा माल्दिभ्सलाई ४–० ले पराजित गरेको थियो ।

नेपालले जुलाई ३१ मा भारतसँग र अगस्ट दुईमा बंगलादेशविरुद्ध खेल्ने तालिका छ । राउण्ड रोविन लिग पद्दतिमा सञ्चालित प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल अगस्ट पाँचमा हुने तालिका छ ।