जर्मन बुन्डेसलिगा

लेवान्डोस्कीलाई बार्सिलोना पठाउने निर्णय सहीः मुलर

बर्लिन । जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखका थोमस मुलरले रोबर्ट लेवान्डोवस्कीलाई बार्सिलोना जान दिने क्लबको निर्णय सही भएको बताएका छन् । 

लेवान्डोवस्कीले गत साता बायर्नको आठ वर्षको बसाईमा पूर्णविराम लगाएका थिए । गत सिजनको अन्त्यसँगै लेवान्डोवस्कीले क्लब छोड्न चाहेको भन्दै फुकुवा गरिदिन आग्रह गरेका थिए । 

बायर्नले नयाँ सिजनक लागि लिभरपुलबाट साडियो मानेलाई अनुबन्ध गरिसकेको छ । त्यस्तै बायर्नका प्रशिक्षक नागेल्सम्यानले टोटनहमका कप्तान ह्यारी केनलाई क्लबमा ल्याउन इच्छुक रहेको बताएका थिए । 

‘लेवान्डोवस्कीले क्लब छोड्नु पर्छ भनेर निर्णय लिएका थिए । त्यसको लागि कारणहरु थिए,’ उनले भने, ‘तर प्रत्येक सिजनमा ३०–५० गोल गर्ने खेलाडी अब हामीसँग छैन । यहाँ सधै खेल्ने उनको कुनै योजना पनि थिएन । जब उ जस्तो स्ट्राइकर साथमा हुन्छ, त्यो सम्भव हुन्छ । अब सबै कुराहरु परिवर्तन भइसकेको छ । मानेले कस्तो प्रदर्शन गर्छन भन्नेमा सबै केन्द्रित छन् ।