जर्मन बुन्डेसलिगा

बायर्नमा प्राप्त गरेको सफलतमा गर्व छः लेवान्डोवस्की

बर्लिन । स्पेनिस ला लिगाको क्लब बार्सिलोना जाने पक्का भएसँगै जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युखिका स्टइकर रोबर्ट लेवान्डोवस्कीले शनिबार आफ्ना समर्थकसँग बिदाई मागेका छन्।

गत मे बाट जारी लेवान्डोवस्कीको नयाँ गन्तव्यको अन्यौल शनिबार पूर्णविराम लागेको थियो । बायर्न लेवान्डोवस्कीलाई बार्सिलोना पठाउन सहमत भएको थियो ।  लेवान्डोवस्की चार वर्ष क्याम्प नोउमा रहनेछन् । 

एक सिजनका लागि बायर्नसँग सम्झौता बाँकी रहे पनि लेवान्डोवस्कीले गत सिजनको अन्त्यसँगै क्लब छोड्ने घोषणा गरेका थिए । आफुलाई फुकुवा गर्नका लागि लेवान्डोवस्कीले गरेको प्रस्ताव बायर्नले अस्विकार गर्दै आएको थियो ।

उनले पछिल्लो आठ सिजन बायर्नबाट लगातार बुन्डेसलिगाको उपाधि जितेका थिए । साथै उनले बायर्नबाट च्याम्पियन्स लिग र फिफा क्लब विश्वकप पनि जितेका थिए । लेवान्डोवस्की हाल अमेरिका भ्रमणमा रहेको बार्सिलोनाको प्रशिक्षणमा सहभागी हुने बताइएको छ ।

‘म मेरो टोली सहकर्मी, क्लबका कर्मचारी, क्लब व्यववस्थापन र मलाई अहिले सम्म माया दिने समर्थकलाई धन्यवाद भन्न चाहन्छु’,लेवान्डोवस्कीले इन्स्ट्राग्राममा पोस्ट गरेका छन्, ‘हामीले धेरै सफलता चुमेका छौ । मैले मेरो खेलजीवनको सुन्दर आठ वर्ष बायर्नमा बिताए । जुन मेरा लागि सधै यादगार रहनेछ ।’

उनले बायर्नबाट सबै खाले प्रतियोगिता गरि ३ सय ७५ खेलमा ३ सय ४४ गोल गरेका थिए ।