इटालियन सिरी ‘ए’

डी मारिया युभेन्टसमा

रोम । इटालियन  सिरी ‘ए’ को क्लब युभेन्टसले अर्जेन्टिनी मिडफिल्डर एन्जल डी मारियासँगको अनुबन्धन प्रक्रिया पूरा गरेको छ । 

डी मारिया र युभेन्टसबीच एक वर्षको सम्झौता भएको हो । गत सिजनको अन्त्यसँगै डी मारियाले फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) सँगको सात वर्षको बसाईमा पूर्णविराम लगाएका थिए । 

पिएसजी बसाईमा उनले पाँच पटक लिग वान र १३ वटा घरेलु प्रतियोगिताको उपाधि जितेका थिए । उनले पिएसजीबाट च्याम्पियन्स लिगको उपाधि भने जित्न सकेनन् ।

गत सिजन डी मारिया लिग  वानको १९ खेलमा मात्र पहिलो रोजाईमा परेका थिए । उनले सबै खाले प्रतियोगिता गरि २२ खेलमा पँच गोल गर्नुका साथै आठ गोलका लागि असिस्ट गरेका थिए ।

सन् २०१५ मा  पिएसजीमा अनुबन्धित भएका डी मारिया यसै वर्षको जुनमा पिएसजीबाट फुकुवा भएका थिए । त्यसअघि डी मारियाले इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस क्लब रियाल मड्रिडबाट समेत खेलेका थिए ।