डार्विन नुनेज

नुनेजले अझै स्तर बढाउन धेरै काम गर्नुपर्छः क्लोप

लन्डन । लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले भर्खरै अनुबन्ध भएका डार्विन नुनेजमा क्लबले खेलाडीमा खोजेको सम्पूर्ण क्षमता भएको तर, अझै पनि उनले स्तर बढाउन काम गर्नुपर्ने बताएका छन् ।

२२ वर्षीय उरुग्वे खेलाडी नुनेजसँग मंगलबार लिभरपुलले ६ वर्षका लागि अनुबन्ध गरेको जनाएको थियो ।

उनले बेन्फिकाबाट ८५ खेलमा ४८ गोल गरेका छन् । गत सिजन प्राइमरा लिगामा २६ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका थिए । यस्तै, उनले च्याम्पियन्स लिगमा लिभरपुलविरुद्ध बेन्फिकाका लागि दुई गोल गरे ।

‘नुनेज उत्कृष्ट खेलाडी हुन् तर, अझै राम्रो खेलाडी हुने सम्भावना छ,’ लिभरपुलको आधिकारीक वेबसाइडमा क्लोपले भनेका छन्, ‘उसको उमेर, इच्छा र आजभन्दा अझ राम्रो हुन्छु भन्ने भोक धेरै राम्रो छ । नुनेजले अझ उत्कृष्ट लय समाउन धेरै काम गर्न बाँकी छ ।’