एएफसी एसियन कप छनोट

दुई गोलको अग्रता जोगाउन नसक्दा अफगानिस्तान रोकियो

नयाँ दिल्ली । एएफसी एसियन कप २०२३ तेस्रो चरणको छ्नोटअन्तर्गत मंगलबार भएको खेलमा दुई गोलको अग्रता जोगाउन नसक्दा अफगानिस्तानले कम्बोडियासँग अंक बाँडेको छ । अफगानिस्तान कम्बोडियासँग २-२ को बराबरीमा रोकियो ।

खेलको १६औं मिनेटमा फैसल सायस्तहले गरेको गोलमा अफगानिस्तानले अग्रता लिएको थियो । यस्तै, ३५औं मिनेटमा मुस्तफा जजाईले अफगानिस्तानको अग्रता दोब्बर पारेका थिए ।

तर, त्यसको दुई मिनेटपछि थिवा ब्राटले गोल गर्दै कम्बोडियाको खेलमा फर्किने सम्भावनालाई कायम राखेका थिए । यस्तै, निर्धारित समय सकिँन नौ मिनेट बाँकी रहदा सोकफेङ केओले गोल गर्दै कम्बोडियालाई खेलमा फर्काएका थिए ।

बराबरीसंगै छ्नोटको समूह 'डी' मा रहेको अफगानिस्तानले दुई खेलबाट एक अंक जोडेको छ । अफगानिस्तान तालिकाको पुछारमा छ । यस्तै समान खेलबाट समान अंक जोडेको कम्बोडिया तेस्रो स्थानमा छ ।

यो समूहबाट भारतले एक खेल अगावै एसियन कपमा स्थान पक्का गरिसकेको छ ।