लिग अफ नेसन्स

डेनमार्कसँग फ्रान्स स्तब्ध

पेरिस । आन्द्रेस कोर्निलियसले दोस्रो हाफमा सनसनीपूर्ण दुई गोल गरेपछि डेनमार्कले लिग अफ नेसन्समा विश्व विजेता फ्रान्सलाई २–१ ले पराजित गरेको छ ।

घरेलु मैदानमा फ्रान्सले करिम बेन्जेमाले गरेको गोलबाट अग्रता लिएको थियो । ५१औं मिनेटमा बेन्जेमाले फ्रान्सलाई अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफमा बेन्जबाट आएका कोर्निलियसले ६८औं मिनेटमा भली गोल गर्दै डेनमार्कलाई बराबरीमा फर्काएका थिए । यस्तै, निर्धारित समय सकिँन दुई मिनेट बाँकी रहँदा कार्निलियसले गरेको गोल नै निर्णायक बन्दा डेनमार्कले २–१ को सनसनीपूर्ण जित निकाल्यो ।

समूह ‘वान’ कै अर्को खेलमा अस्ट्रियाले क्रोएसियालाई ३–० ले पराजित गर्यो ।

क्रोएसियाकै घरेलु मैदानमा भएको खेलमा पाहुना टिमका मार्को अमाउटोभिक, मिचेल गर्गोरिच र मार्सेल सबिट्जरले एक–एक गोल गरे ।

जितसँगै अस्ट्रिया तालिकाको शीर्ष स्थानमा पुग्दा डेनमार्क दोस्रो स्थानमा उक्लिएको छ । यस्तै, फ्रान्स तेस्रो र क्रोएसिया चौथो स्थानमा छन् ।