सहिद स्मारक ‘सी’ डिभिजन लिग

विरगंज रेलिगेशनमा पर्दा झापा ‘बी’ डिभिजनमा बढुवा

काठमाडौं । झापा फुटबल क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगको एक खेल अगावै ‘बी’ डिभिजन लिगमा उक्लिएको छ ।

लिगअन्तर्गत सोमबार भएको १२औं चरणको खेलमा विरगंज युथ एकेडेमीलाई ५–० ले पराजित गर्दै झापाले एक खेल अगावै ‘बी’ डिभिजन लिगमा आफ्नो स्थान पक्का गरेको हो ।

सातदाबोटोस्थित एन्फा कम्प्लेक्समा झापालाई जित दिलाउन पुजन राईले चार गोल गर्दा अर्को एक गोल सन्तोष लावतीले गरे ।

यस्तै, आजको हारसँगै विरगंज युथ भने ‘सी’ डिभिजन छनोटमा घटुवा भएको छ । १२ खेलबाट पाँच अंक जोडेको विरगंज तालिकाको १३औं स्थानमा छ ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको झापाले ३१ अंक जोडेको छ । जुन दोस्रो स्थानको प्लानिङ ब्वाइज युनाइटेड क्लबको भन्दा तीन अंक बढी हो । यस्तै, तेस्रो स्थानको आरसी ३२ फुटबल एकेडेमीको पनि २८ अंक छ ।

झापाले लिगमा आरसी ३२ लाई हराएको र प्लानिङ ब्वाइजसँग बराबरी गरेको कारण एक खेल अगावै दोस्रो डिभिजनको टिकट काटेको हो ।

झापाले अन्तिम खेलमा स्वयम्भु क्लबसँग खेल्नेछ । यस्तै, प्लानिङ ब्वाइजले ओसिस क्लब र आरसी ३२ ले स्पोर्टस एकेडेमी साँगासँग खेल्नेछ ।

आजै भएको पहिलो खेलमा प्लानिङ ब्वाइजले समाज कल्याण खेलकुद केन्द्रलाई ४–० ले पराजित गरेको थियो ।

आजको खेलसँगै सी डिभिजन लिगबाट घटुवामा पर्ने दुई टोलीको टुङ्गो लागेको छ । तालिकाको पुछारमा रहेको ओसिस क्लब यसअघि नै घटुवामा परिसकेको छ ।