सहिद स्मारक सी डिभिजन लिग

‘सी’ डिभिजन लिगमा मिलेमतो ?

काठमाडौं । रेलिगेसन–प्रमोसन लिगको पहिलो सिँढी सहिद स्मारक ‘सी’ डिभिजन लिग जारी रहँदा नेपाली फुटबलमा खेल मिलेमतोको प्रशंग चर्को रुपमा उठेको छ ।

खेलाडी तथा पदाधिकारीबीच यसअघि मसिनो स्वरको कुराकानीमा सीमित रहने गरेको खेल मिलेमतोको विषयमा सोमबार ‘सी’ डिभिजन लिगको एउटा क्लब आरसी ३२ का प्रमूख रविन्द्र चन्दले सार्वजनिक रुपमा सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

यसैवर्ष मात्र ‘सी’ डिभिजन लिग छनोट प्रतियोगितामा सफलता हासिल गर्दै डिभिजन लिगको सबभन्दा तल्लो श्रेणीको हैसियत हासिल गरेको आरसी ३२ का चन्दले एन्फाको वर्तमान नेतृत्वप्रति आक्रोष पोख्दै फेसबुकमार्फत स्ट्याटस पोस्ट गरेका छन् । जसलाई खेलाडी गणेश खड्का र कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्ललगायतका फुटबलकर्मीहरुले शेयर गरेका छन् ।

‘जारी एन्फा सी–डिभिजन लिगका धेरै खेलहरुमा मिलेमतो भइरहेको जानकारी हुँदाहुँदै पनि यो निकम्मा एन्फाले केही गर्न नसक्नु कतिसम्म लाजमर्दो कुरा हो । तिमीहरुको पो केहि जाँदैन, हाम्रो त एक एक मेहनत गरेर जोडेको पैसाको लगानीछ यस्मा !! खेलको भावनामा खेलवाड गर्ने अधिकार तिमीहरुलाई छैन । एउटा सी–डिभिजन लिग त व्यवस्थित तरिकाले चलाउन सक्दैनौ तिमीहरु, अझ विश्वकपको १० वटा खेल नेपालमा गराउँछौं भन्न कुन मुखले सकेको होला !!’ चन्दले आफ्नो स्ट्याटसमा ह्यासट्याग ब्याक अफ कर्मा उल्लेख गर्दै लेखेका छन् ।

राष्ट्रिय टिमका कप्तान र उपकप्तानसहित पाँच खेलाडीमाथि खेल मिलेमतोको आरोप पुष्टी भएपछि २०७२ सालमा नेपाली फुटबल निक्कै बदनाम भएको थियो । खेल मिलेमतोको आरोपमा विश्व फुटबलको सर्वोच्च निकाय फिफा तथा एसियाली फुटबल महासंघ (एएफसी)ले राष्ट्रिय टिमका तत्कालिन कप्तान सागर थापा, उपकप्तान सन्दीप राईसँगै रितेश थापा, विकाससिंह क्षेत्री र अञ्जन केसीमाथि आजीवन प्रतिबन्ध लगाएको थियो ।

नेपालको घरेलु फुटबलमा पनि मिलोमतोको कुरा उठेको यो पहिलो पटक होइन । प्रत्येक वर्ष विभिन्न डिभिजनका लिगलाई मिलेमतोको रोगले ग्रसित बनाएको चर्चा मसिनो स्वरमा चल्ने गर्छ । केही अवसरमा त स्वयम् एन्फाले मिलेमतोको आशंकामा घोषित पुरस्कार रद्द गरेको, क्लबले आफ्ना खेलाडीलाई कार्वाही गरेका तथा प्रशिक्षकहरुले पत्रकार सम्मेलनमै मिलेमतोका गुनासो गरेका घटना पनि भएका छन् । तर, नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाले भने यसमाथि कहिल्यै पनि कुनै गम्भीर कदम चालेको छैन ।

अखिल नेपाल फुटबल संघ (एन्फा) निर्वाचन नजिकिँदै गर्दा खेल मिलेमतोको प्रशंग उठ्नुलाई नेतृत्वले चुनावी फन्डाको रुपमा वयान गरेको छ ।

‘यो चुनावमा हाम्रो पक्षविरुद्ध चालिएको नियोजित षणयन्त्र हो । मिलेमतो भएको कुरा फेसबुकमा लेख्ने होइन, सम्बन्धित निकायमा उजुरी गर्ने हो । उहाँहरुलाई त्यस्तो लागेको भए एन्फामा जानकारी गराउनुपर्थ्यो,’ आगामी असार ६ गते हुने निर्वाचनका लागि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको प्यानलबाट उम्मेदवारी दिएका एक पदाधिकारीले खेलाडीसँग भने, ‘मिलोमतो फुटबलमा हुने सबभन्दा ठूलो अपराध हो । हामी पनि यस्तो अपराधलाई निरुत्साहित गर्न चाहन्छौं । तर अहिले उहाँहरुले यसलाई चुनावी मुद्धामात्र बनाउन खोज्नुभएको हो ।’

तर, कैलाली जिल्ला फुटबल संघका अध्यक्ष मल्लले चन्दको स्ट्याटस सेयर गर्दै लेखेको विषयमाथि भने ति पदाधिकारीले कुनै जवाफ दिन चाहेनन् । भने, ‘उहाँलाई थाहा भएको विषय रहेछ, उहाँसँगै सोध्नुस ।’

‘म्याच फिक्सिङको राम्रो अनुभव छ कर्मा कम्पनीसँग । गत वर्षको लिग रेकर्ड पल्टाउँदा क्लियर हुन्छ,’ मल्लले चन्दको स्ट्याटस सेयर गर्दै लेखेका छन् ।