एन्फा निर्वाचन

सिन्धुली जिल्ला फुटबल संघको निर्वाचन फेरि स्थगित

काठमाडौं । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) आगामी असारको पहिलो साताका लागि घोषित केन्द्रिय कार्यसमितिको निर्वाचन तयारीमा व्यस्त छ ।

आगामी चार वर्षे कार्यकालका लागि केन्द्रिय कार्यसमिति चुनावमा प्रतिनिधित्व गर्नका लागि त्यसअघि नै सबै जिल्ला तथा क्लबमा निर्वाचन भइसक्नुपर्छ । त्यसअनुसार एन्फाअन्तर्गत भएका ४८ मध्ये ४७ जिल्लाको निर्वाचन सम्पन्न भइसकेको छ ।

तर सिन्धुली जिल्ला फुटबल संघको निर्वाचन भने तेस्रो पटक तोकिएको मिति बिहीबार पनि हुन सकेन । पहिलो पटक बैशाख ९ गते सिन्धुली माडीमा भएको निर्वाचनमा अध्यक्ष पदका दुई उम्मेदवारको मत बराबरी भएपछि स्थगित गरिएको निर्वाचनका लागि बैशाख १८ को अर्को मिति तोकिएको थियो ।

दोस्रो पटक तोकिएको मितिमा पनि चुनाव हुन नसकेपछि सिन्धुलीको निर्वाचनका लागि एन्फाले बैशाख २२ गते बिहीबारका लागि सबै मताधिकारप्राप्त क्लबका प्रतिनिधि र उम्मेदवारहरुलाई सातदोबाटोस्थित एन्फा कम्प्लेक्समै बोलाएको थियो । तर बिहीबार पनि प्राविधिक कारणवश हुन नसकेको भन्दै एन्फाले सिन्धुली जिल्ला फुटबल संघको चुनाव स्थगित गरेको छ ।