एनएसएल

एनएसएल भदौदेखि गर्ने प्रस्ताव

काठमाडौं । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्राली (एनएसइएम)ले नेपाल सुपर लिग (एनएसएल)को आयोजन गर्न नयाँ मिति माग गरेको छ । यसअघि चैत २५ गतेदेखि हुने भनिए पनि अन्तिम समयमा आएर आयोजकले एनएसएलको दोस्रो संस्करण स्थगित गरेको थियो ।

भदौ २५ गतेदेखि कात्तिक ५ गतेसम्मको मिति माग गर्दै आयोजक एनएसइएमका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्माद्धारा हस्ताक्षरित पत्र मंगलबार एन्फामा दर्ता गराइएको एन्फा सचिवालयले खेलाडीलाई जानकारी गराएको छ ।

एन्फाको दर्ता नम्बर ५१० रहेको पत्रमा शर्माले लेखेका छन्, ‘उपरोक्त सम्बन्धमा यस संस्थाद्धारा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा नेपाल सुपर लिगको पहिलो संस्करण भव्य रुपमा सफल भएको अवगतै छ । दोस्रो संस्करण आयोजना गर्नका लागि भाद्र २५ देखि कात्तिक ५ को समय उपलब्ध गराइदिनुहुन विनम्र अनुरोध गर्दछु । साथै यस वर्ष पनि अखिल नेपाल फुटबल संघबाट विगतमा जस्तै सहयोगको अपेक्षा गर्छु । धन्यवाद ।’

चैतमा प्रतियोगिता स्थगित गर्ने क्रममा एनएसइएम तथा एनएसएलका सहभागी १० क्लबले एन्फा र सहिद स्मारक लिगका क्लबहरुबाट असहयोग भएको आरोप लगाएका थिए । चैत २५ बाट प्रतियोगिता गर्नका लागि चैत २ मा एनएसइएमले एन्फासँग अनुमति माग्दै पत्र दर्ता गराएको थियो । सोहीअनुसार चैत ९ गते एन्फाले एनएसइएमले मागेकै मितिमा प्रतियोगिता गर्ने स्वीकृति दिएको थियो । तर एनएसइएम र सहभागी क्लबहरुले तयारीका लागि समय नपुग्ने भन्दै प्रतियोगिता स्थगित गरेका थिए ।

त्यसअघि पनि एनएसइएमले दोस्रो एनएसएलका लागि मिति माग गर्दै पुस २१ गते एन्फालाई पत्राचार गरेको थियो । तर त्यतिबेला दर्ता नगराएका कारण एन्फा सचिवालयले पत्र  नै नआएको भनेपछि  भनेपछि एनएसइएमले चैत पहिलो साता फेरि अर्को पत्र दर्ता गराएको थियो ।

एनएसइएमले पुसमा एन्फामा बुझाएको पत्र: