एन्फा चुनाव

किरण राईले रविनलाई अर्को पत्र पठाएपछि सुर्खेतको चुनाव स्थगित

काठमाडौं । जिल्ला फुटबल संघ सुर्खेतको मंगलबार हुने तय भएको चुनावी साधारण सभा स्थगित भएको छ । शिरमोर क्लबबाट मनोनित भएर आएका प्रतिनिधि रविन चन्दलाई अखिल नेपाल फुटबल संघ (एन्फा)को सचिवालय र सदस्य संस्था निर्वाचन समस्या तथा विवाद समाधान समितिबाट फरक-फरक पत्र काटिएसँगै चुनाव स्थगित भएको हो ।

आज हुने तय भएको निर्वाचनका लागि शिरमोर युवा क्लबको प्रतिनिधित्व गरेका रविनको मनोनयन अस्वीकार गर्दै महासचिव इन्द्रमान तुलाधरले चुनाव सहभागी हुन नपाउने बताउँदै पत्र काटेका थिए ।

एन्फाको सदस्य संस्था सुर्खेत जिल्ला फुटबल संघको आगामी चार वर्षे कार्यकालका लागि मंगलबार चुनाव हुने कार्यसूची थियो । तर, चन्दको मनोनयननै स्वीकृत नभएसँगै अन्योलमा परेको चुनाव शनिबार हुने भएको छ ।

एन्फा सचिवालयले सुर्खेत निर्वाचनका लागि खटाएका केन्द्रीय पर्यवेक्षक भरत बुडथापालाई सम्बोधन गर्दै महासचिव तुलाधरले लेखेको पत्रमा ‘कुनै पनि एक सदस्य संस्थाबाट प्रतिनिधि भए पश्चात अन्य सदस्य संस्थाको प्रतिनिधित्व गर्न नपाइने भएकाले रविन चन्दले मनोनित भएर आउन नमिल्ने’ उल्लेख गरिएको थियो ।

तर, मंगलबार एन्फा विधान, एन्फा निर्वाचन निर्देशिका मस्यौदा समिति तथा सदस्य संस्था निर्वाचन समस्या तथा विवाद समाधान समितिका संयोजक किरण राईले पत्र काट्दै ‘सी डिभिजन क्लबको निर्वाचनमा आरसी ३२ फुटबल एकेडेमीको क्लबको तर्फबाट कोषाध्यक्ष सुनील देवकोटाले प्रतिनिधित्व गरेको हुँदा एन्फा निर्वाचन निर्देशिकासमेतको आधारमा शिरोमर युवा क्लबको प्रतिनिधिको रूपमा रविन चन्दले सुर्खेतको चुनावमा सहभागी हुन पाउने’ बताएका छन् ।

यसअघि, यो विषयमा अध्यक्ष पदका आकांक्षीको रूपमा चर्चा भइरहेका चन्दले आफूले चुनावमा सहभागी हुन पाउनु पर्ने बताउँदै आएका छन् ।

यसअघि एन्फाको केन्द्रीय निर्वाचनका लागि चैत २४ गते हुने तय भएको सी डिभिजनको प्रतिनिधि छनोटको प्रक्रिया स्थगित भएको थियो । त्यस दिनका लागि आरसी ३२ को प्रतिनिधित्व गर्दै चन्द एन्फा परिषरमा उपस्थित थिए ।

तर, त्यो दिन छनोट प्रक्रिया नै स्थगित भएको थियो । नयाँ मितिमा सी डिभिजन लिगबाट प्रतिनिधि छनोटको चुनाव वैशाख २ गते हुँदा संशोधित नामावलीमा चन्दको नाम छैन ।

उनको स्थानमा नाम परिवर्तन गरी आरसी ३२ बाट सुनिल देवकोटाले मताधिकार लिएर आएका थिए ।

‘आरसी ३२ बाट मताधिकार अर्कैले लिइसकेको छ, र सी डिभिजन लिगको चुनावका लागि सार्वजनिक भएको अन्तिम नामावलीमा नै मेरो नाम छैन भने मेरो मनोनयन शिरमोर युथबाट अस्वीकृतको कुनै कारण देखिँदैन,’ चन्दले खेलाडीसँग भने, ‘सी डिभिजन लिगको चुनावमा आरसी ३२ बाट भोट नै अर्कै व्यक्तिले हालेको छ । निर्देशिका अनुसार मैले पाउनु पर्ने हो ।’

यद्यपि, एन्फाका महासचिव इन्द्रमान तुलाधरले आर ३२ को अध्यक्ष भएकाले अर्को क्लबको प्रतिनिधित्व गर्न नपाउने बताएका थिए ।

‘यसअघि संकटा क्लबमा आवद्ध भएका कारण सुरेन्द्र सिख्राकारको रेफ्री कमिटिको मनोनयन पनि अस्वीकृत भएको थियो,’ महासचिव तुलाधरले खेलाडीसँग सोमबार भनेका थिए, ‘त्यसैले रविन चन्दले पनि पाउने कुरै हुँदैन ।’