छिरिङ गुरुङ मछिन्द्रमा 

काठमाडौं, (खेलाडी)- आगामी कात्तिकमा सुरु हुने भनिएको सहिद स्मारक ‘ए’ डिभिजन लिगका लदागि रक्षक छिरिङ गुरुङ साविक विजेता मछिन्द्र फुटबल क्लबसँग अनुबन्धित भएका छन् । 

नेपाल राष्‍ट्रिय फुटबल टोलीका रक्षक छिरिङले गत सिजन च्यासल युथ क्लबबाट खेलेका थिए । 

मछिन्द्र क्लबका व्यवस्थापक अनिल श्रेष्‍ठले यसपालीको लिग तथा मोफसलमा हुने अन्य नकआउट प्रतियोगिताहरुमा छिरिङ आफ्नो टोलीको मुख्य हिस्सा हुने बताए । 

‘आगामी लिग र मोफसलका प्रतियोगिताका लागि हामीले छिरिङलाई अनुबन्ध गरेका हौं । उनलाई कम्तिमा त्यो अवधिसम्म मछिन्द्रको जर्सीमा देख्‍न पाइनेछ,’ क्लबको वरिष्‍ठ उपाध्यक्ष समेत रहेका श्रेष्‍ठले खेलाडी डटकमसँग भने । 

क्लब र खेलाडीबीचको सम्झौता रकम भने खुलाइएको छैन । गत मंसिरको पहिलो साता कोभिड १९ महामारीबीच बंगलादेशविरुद्ध भएको दोस्रो मैत्रीपूर्ण खेलमा छिरिङले राष्‍ट्रिय टोलीबाट ‘डेब्यू’  गरेका थिए । मुख्य प्रशिक्षक योहान कालिनको अनुपस्थितमा अन्तरिम प्रशिक्षकको जिम्मेवारी लिएका बालगोपाल महर्जनले छिरिङलाई पहिलो रोजाईबाटै खेलाएर ‘डेब्यू’ गराएका थिए । 

उमेर समूहको टोलीबाट नेपालको जर्सी लगाउन सुरु गरेका एन्फा एकेडेमीका उत्पादन छिरिङ पछिल्लो समय नेपालले थ्री नेसन्स कपको उपाधि जित्दा टोलीको महत्वपूर्ण सदस्य थिए । 

गत जेठमा पहिलो पटक भएको फ्रेन्चाइज प्रतियोगिता नेपाल सुपरलिगमा काठमाडौं रेजर्सलाई उपाधि जितउँदा छिरिङले प्रभावशाली प्रदर्शन गरेका थिए । फाइनल सहित ९ खेल खेलेका छिरिङले एक गोल समेत गरेका थिए । दुई पटक मात्रै परिवर्तन भएका छिरिङले ७ सय ३७ मिनेट मैदानमा बिताएका थिए । 

छिरिङ यस सिजन मछिन्द्र क्लब भित्रिने तेस्रो खेलाडी भएका छन् । यसअघि राष्‍ट्रिय टोलीका मिडफिल्डरद्वय मनिष डांगी र सुनिल बललाई क्लबले भित्र्याइसकेको छ । 

मनिष पहिलो पटक ‘ए’ डिभिजन लिग खेल्दै छन् भने सुनिलले गत सिजन च्यासल तथा त्यसअघि थ्री स्टार क्लबबाट ‘ए’ डिभिजन लिग को अनुभव लिएका थिए । 

यस्तै साविक विजेता मछिन्द्रले गत सिजन क्लबलाई पहिलो पटक उपाधि जिताएका अधिकांश खेलाडीलाई निरन्तरता दिएको छ । कप्तान विराज महर्जनको अझै निर्णय नहुँदा उपकप्तान सुजल श्रेष्‍ठ, विशाल राई, विशाल श्रेष्‍ठ, रन्जित धिमाल, देभेन्द्र तामाङ, रेजिन सुब्बा र अभिषेक रिजाललाई क्लबले यस सिजनको लागि पक्का गरिसकेको छ । 

विदेशी खेलाडीको विषयमा भने मछिन्द्र हालसम्म मौन रहेको छ । एएफसी क्लब लाइसेन्सको प्रक्रियामा रहेको क्लबले युरोपबाट खेलाडी झिकाउने तयारी गरेको बताइएको छ ।