नेदरल्यान्डसलाई विश्‍व च्याम्पियन बनाउने भान हालको महत्वाकांक्षा

एम्सटरडम, (खेलाडी)- नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान हालले आफूहरुको स्पष्‍ट उदेश्य ‘विश्‍व विजेता बन्‍नु रहेको बताएका छन् । 

नेदरल्यान्ड्सको प्रशिक्षण सम्हालेको तेस्रो कार्यकालको दोस्रो हप्ता भान हालले विश्‍व च्याम्पियन बन्‍ने महत्वाकांक्षा सार्वजनिक गरेका हुन् ।
 
अर्को महिना हुने विश्‍वकप छनोट अन्तर्गतका तीन खेलको लागि तयारी गर्न समय सिमित भएकाले सजिलो नरहेको चाँही उनले बुधबार स्वीकार गरे । 

नेदरल्यान्ड्स १९७४, १९७८ र २०१० गरी तीन पटक विश्‍वकपको फाइनल पुगे पनि तीनै पटक फाइनलमा पराजित भएको थियो । पछिल्लो पटक दक्षिण अफ्रिकामा भएको विश्‍वकपको फाइनलमा नेदरल्यान्ड्सलाई स्पेनले पराजित गरेको थियो । डच टोलीले १९८८ मा युरोपियन च्याम्पियनसिपको उपाधि भने उचालेको थियो । 

पूर्व प्रशिक्षक फ्रान्क डी बोयरले नेदरल्यान्ड्स युरो २०२० अन्तर्गत अन्तिम १६ को खेलमा चेक गणतन्त्रसँग पराजित भएपछि राजीनामा दिएका थिए । डी बोयरको राजीनामापछि भान हाल तेस्रो पटक डच टोलीको प्रशिक्षकमा नियुक्त भएका थिए ।