एनएसएल

एनएसएल गोल्डकप शैलीमा गराउने कार्यदलको निर्णय

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को विवाद समाधान कार्यदलको बुधबारको बैठकले प्रतियोगिता सम्पन्न भएसँगै अखिल नेपाल फुटबल संघ (एन्फा)सँगको सम्झौता स्वतः खारेज हुने निर्णय गरेको छ ।

पछिल्लो समय एनएसएलको आयोजना र अस्तित्वलाई लिएर सहिद स्मारक ए डिभिजन लिगका चार क्लबले प्रश्न उठाउँदै आएका छन् । त्यसैका आधारमा एन्फाले फागुन २० गते भएको खेलाडी अक्सन रोक्न निर्देशन दिएको थियो । तर, निर्देशन मिचेरै एनएसएलको अक्सन भएको थियो ।

त्यसका लागि एन्फाले स्पष्टीकरणसमेत मागेको थियो । उक्त स्पष्टीकरण बुझाएसँगै एनएसएल आयोजनाको स्वीकृतिसहित कार्यदलले बुधबार चार निर्णय गरेको छ ।

यस क्रममा पहिलो निर्णय आसन्न प्रतियोगिताको समाप्तिसँगै एन्फा र एनएसएलबीचको सम्झौता स्वतः रद्द हुनेछ । यस्तै दोस्रो निर्णय चैत २५ गतेदेखि प्रतियोगिता सञ्चालन गर्न दिने रहेको छ ।

यस्तै, तेस्रो निर्णय एनएसएलका लागि खेलाडी सरुवा क्लबबीच आपसी समझदारीमा गर्न दिने निर्णय भएको कार्यदल सदस्य तथा एन्फाका उपाध्यक्ष वीर बहादुर खड्काले जानकारी दिए ।

‘चौथो निर्णय खेलाडी तथा क्लब दर्ता एन्फाले नगर्ने र प्राविधिक सहयोग मात्रै गर्ने भएको छ,’ उपाध्यक्ष खड्काले भने, ‘यो भनेको गोल्डकपकै शैली हो, आयोजक आफैँले खेलाडी तथा क्लब दर्ता गर्छ ।’