इन्टर मिलान

जिनुवाविरुद्ध लयमा फर्किने इन्टरको लक्ष्य

मिलान । उपाधि रक्षाको यात्रामा धर्मराउँदै अघि बढिरहेको इन्टर मिलान शुक्रबार कमजोर जिनुवाको भ्रमणमा निस्कँदा त्यसलाई सही लिकमा फर्काउने अवसर प्राप्त गर्नेछ ।

इटालियन सिरी ‘ए’मा शुक्रबार दुई मात्र खेल हुनेछन् । अर्को खेलमा शीर्ष स्थानको एसी मिलानले युडिनेसीलाई सान सिएरोमा आतिथ्य प्रदान गर्नेछ ।  

फेब्रुअरीको सुरुमा साविक विजेता टोली चार अंकको स्पष्ट अग्रतासहित सिरी ‘ए’ अंकतालिकाको शीर्ष स्थानमा थियो । तर यो महिना भोगेका लगातार कमजोर नतिजाका कारण एक खेल कम खेलेको टोली अहिले सहरी प्रतिद्वन्द्वी मिलानभन्दा दुई अंकले पछि परेको छ ।

इन्टरका लागि विर्सन लायक बनेको महिना टोली लिभरपुलसँग पराजित हुँदै युरोपबाट पनि बाहिरिएको थियो । घरेलु लिगमा गत सप्ताहन्तमा सासौलोसँग २–० को नतिजामा पराजित इन्टर फेब्रुअरी १२ मा नेपोलीसँग १–१ को नतिजामा सीमित भएको थियो । त्यसअघि फेब्रुअरी पाँचमा टोलीले शीर्षताको प्रतिद्वन्द्वी एसी मिलानलाई पनि २–१ को नतिजा सुम्पिएको थियो ।

सिमोन इन्जाघीको इन्टर जायन्ट किलरको छवि बनाएको सासौलोसँग पराजित भएपछि पुछारको सालेर्निटानासँग २–२ को बराबरीमा रोकिए पनि मिलान शीर्ष स्थानमा उक्लिन सफल भएको थियो । सासौलोविरुद्धको खेलले विपक्षी गोल पोस्टमा इन्टरको कमजोरी उदांग पारेको थियो ।

‘उपाधि जित्न चाहने टोलीले मैदानमा त्यस्तो प्रदर्शन गरेर सम्भव हुँदैन,’ सासौलोविरुद्धको खेलमा गरेको प्रदर्शनमाथि इन्टरका प्रशिक्षक इन्जाघीले निराशा पोखे ।

मिलानसँगको डर्बी हारबाट सुरु भएको इन्टरको ओराली यात्रामा लिभरपुलविरुद्धको हारले पनि मनोबल गिराएको थियो । सासौलोविरुद्धको खेलमा एक अंकमात्र लिन सकेको भए पनि इन्टरको धरातल बलियै रहने थियो ।

सासौलोविरुद्धको खेलमा लाउटारो मार्टिनेजको प्रदर्शन अत्यन्तै खराब फरवार्डको जस्तो रहयो । खाली पोस्टमा केही इन्चीको दुरीबाट प्रहार गरेको बल बाहिर फ्याँकेर मार्टिनेजले सबैखाले प्रतियोगितामा गरी पछिल्ला ११ खेलमा किन उनको गोलसंख्या एकमात्र छ भन्ने प्रमाण दिएका थिए ।

क्रोएसियाली खेलाडी मार्सेलो ब्रोजोभिच प्रतिबन्धबाट फर्किनु इन्टरका लागि सुखद समाचार हुन सक्छ । सासौलोविरुद्धको खेलमा उनी अनुपस्थिती हुनुको मुल्य टोलीले हारबाट चुकाउनुपरेको थियो ।

स्टेडियो लुइगी फेरारिसमा इन्टर मैदान उत्रिनुअघि नै सकिने खेलमा युडिनेसीमाथि जित हासिल गरे मिलानले शीर्षता कायम राख्नेछ । गत सप्ताहन्तमा इन्टर र तेस्रो स्थानको नेपोली दुवैले अवसर खेर फालेपछि स्टेफानो पियोलीको मिलान शीर्षता हासिल गर्न भाग्यमानी सावित भएको थियो ।

आज (बिहीबार) राति युरोपा लिगको खेलका लागि बार्सिलोनालाई निम्त्याउने नेपोलीले आगामी सिजन च्याम्पियन्स लिग खेल्ने योजनामा रहेको लाजियोसँग आइतबार रोममा प्रतिस्पर्धा गर्नेछ । त्यसपछिको खेलका लागि टोलीले शीर्ष स्थानको मिलानलाई आतिथ्य प्रदान गर्नेछ ।

नेपोलीका प्रशिक्षक लुसियानो स्पालेटीले बार्सिलोनाविरुद्धको खेलका लागि लोरेन्जो इन्सिग्ने र माटियो पोलिटानो उपलब्ध हुने बताएका छन् । भिक्टर ओसिमहेन पनि राम्रो फर्ममा छन् । काग्लियारीमा अन्तिम समयमा उनैले गरेको बराबरी गोलका कारण सोमबार नेपोली हारको संघारबाट जोगिएको थियो ।

सप्ताहन्तमा इटालियन सिरी ‘ए’ अन्तर्गत हुने खेलहरु:

एसी मिलान विरुद्ध युडिनेसी (शुक्रबार राति ११:३० बजे)

जिनुवा विरुद्ध इन्टर मिलान (शुक्रबार राति १:४५ बजे)

सालेर्निटाना विरुद्ध बोलोग्ना (शनिबार राति ७:४५ बजे)

इम्पोली विरुद्ध युभेन्टस (शनिबार राति १०:४५ बजे)

सासौलो विरुद्ध फियोरेन्टिना (शनिबार राति १:४५ बजे)

टोरिनो विरुद्ध काग्लियारी (आइतबार राति ५:१५ बजे)

भेरोना विरुद्ध भेनेजिया (आइतबार राति ७:४५ बजे)

स्पेजिया विरुद्ध एएस रोमा (आइतबार राति १०:४५ बजे)

लाजियो विरुद्ध नेपोली (आइतबार राति १:३० बजे)

एट्लान्टा विरुद्ध साम्पडोरिया (सोमबार राति १:३० बजे)