सहिद स्मारक ‘ए’ डिभिजन लिग

मछिन्द्र र सातदोबाटोको पहिलो हाफ बराबरी

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग लिडर मछिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । 

दुवै टोलीले गोलका लागि उत्कृष्ट मौका बनाए पनि फिनिसिङ चुस्त नहुँदा ‘डेडलक’ तोडिएन । खेल रोमाञ्चक बने पनि न्युन संख्यामा प्यारापिटमा उपस्थित दर्शकले गोल हेर्न पाएनन् ।

सातदोबाटोका सुदिप गुरुङले १८औं मिनेटमा पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार सोझै मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठको हातमा परेको थियो । 

विमल घर्ती मगरले १९औं मिनेटमा पेनाल्टी एरियाको एजबाट गरेको प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले पञ्च आउट गरिदिएका थिए । सोही कर्नरमा मछिन्द्रका सुनील बलको क्रस सातदोबाटोका गोलकिपरले पुनः बाहिर धकेलिदिएका थिए । लगातार तेस्रो पटक पाएको कर्नरमा सुनीलले प्रहार गरेको बल गोल किक हुँदा मछिन्द्रले अग्रता लिने मौका गुमायो । 

सातदोबाटोमाथि लगातार दबाब बनाएको मछिन्द्रका लागि २३औं मिनेटमा नुर्लान नोब्रुजोभको क्रसमा ‘अन–मार्क्ड’ विमलले प्रहार गरेको हेडरमा विपक्षी टोलीका गोलकिपर बाधक बने । सुरुआती १० मिनेटसम्म लिग लिडर मछिन्द्रमाथि दबाब बनाएको सातदोबाटोले गोलका लागि स्पष्ट मौका सृजना गर्न सकेन । 

सातदोबाटोले कर्नरमार्फत २९औं मिनेटमा मछिन्द्रको गोलपोष्टमा आक्रमणको मौका बनाएको थियो । ६ यार्ड बक्स भित्रबाट सातदोबाटोका खेलाडीले लगातार गरेका चार प्रहारमध्ये कुनैले पनि गोल लाइन पार गर्न सकेन ।

कप्तान मान बहादुर तामाङले ३२औं मिनेटमा बायाँ तर्फबाट प्रहार गरेको फ्रि–किकमा मार्टिन एस नाङ्गाले हेडरमार्फत गरेको सशक्त प्रहार मछिन्द्रका गोलकिपर विशालले उत्कृष्ट बचाउ गरेका थिए । 

मछिन्द्रका कप्तान सुजल श्रेष्ठले ३४औं मिनेटमा पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार गोलपोष्टको दायाँ तर्फबाट बाहिरिएको थियो । 

मछिन्द्रले आजको खेलमा जित हासिल गरे दुई खेल अगावै लिगको उपाधि निश्चित गर्नेछ । मछिन्द्र १० खेलमा आठ जित र दुई बराबरीको नतिजापछि २६ अंकसहित शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको मनाङभन्दा ६ अंक बढी हो । 

सातादोबाटो समान खेलबाट १५ अंक जोडेर लिग तालिकाको छैठौं स्थानमा छ ।