इङ्लिस प्रिमियर लिग

सिटीसँग दुरी कम गर्दै लिभरपुल, टोटनहम उल्भरहमटनसँग निराश

लन्डन । बनर्लीमाथि आइतबार १-० को जितसहित लिभरपुलले इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको दुरी नौ अंकमा झारेको छ ।

सिटीले शनिबार नर्विच सिटीमाथि ४-० जितसहित शीर्ष स्थानमा १२ अंकको अग्रता लिएको थियो । २५ खेलमा सिटीको ६३ अंक छ भने लिभरपुलको ५४ अंक छ । सिटी भन्दा लिभरपुलले एक खेल कम खेलेको छ । सो खेल जितेमा लिभरपुलले सिटीसँगको दुरी ६ अंकमा झार्नेछ । 

तेस्रो स्थानको चेल्सीको २४ खेलमा ४७ अंक छ भने २५ खेल खेलेको चौथो स्थानको वेस्ट हमको ४१ र पाँचौ स्थानको म्यानचेस्टर युनाइटेडको ४० अंक रहेको छ । 

पहिलो हाफमा गोलकिपर एलिसनले बनर्लीको धेरै प्रहारहरु विफल पार्दै लिभरपुलको संकट टारेका थिए ।

४०औं मिनेटमा फाबियानोले गरेको गोल लिभरपुलको जितमा पर्याप्त बन्यो । 

उल्भरहमटनसँग २-० ले पराजित भएपछि शीर्ष चारको टोलीसँग अंक दुरी कम गर्ने टोटनहमको लक्ष्यले भने पूर्णता पाउन सकेन ।

उल्भरहमटनको जितमा राउल जिमिनेज र लेन्डर डेन्डंकरले समान एक गोल गरे ।