मेसी यहीँ बस्न चाहन्छन्, चाँढै सम्झौता हुन्छ ः बार्सिलोनाका अध्यक्ष लापोर्टा

बार्सिलोना, जेठ १९ (खेलाडी)– बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले लियोनेल मेसी फेरी क्याम्प नोउमै बस्न इच्छुक रहेको दाबी गर्दै नयाँ सम्झौताका लागि खेलाडी र क्लबबीच छलफल चलिरहेको बताएका छन् । 

गत अगस्टमा पनि अर्जेन्टिनी फरवार्ड मेसीले बार्सिलोना छोड्ने इच्छा देखाएका थिए । तर यही जुन ३० मा वर्तमान सम्झौता नसकिएसम्म क्याम्प नोउमै बस्न उनी सहमत भएका थिए ।

क्लबको नेतृत्वसँगको असहमतिका कारण पछिल्लो केही समययता बार्सिलोनाका कप्तान तथा कीर्तिमानी गोलकर्ता मेसी बर्हिगमनको बाटो खोजिरहेका थिए । बार्सिलोनासँगको सम्झौता सकिएपछि स्वतन्त्र सरुवा प्रणालीअन्तर्गत म्यानचेस्टर सिटी वा पेरिस सेन्ट जर्मनले अनुबन्ध गर्ने उनको अपेक्षा रहेको बताइएको छ ।

तर अध्यक्षको निर्वाचनमा लापोर्टाले जित हासिल गरेपछि ३३ वर्षे सुपरस्टार मेसी र क्लब नेतृत्वबीचको सम्बन्ध निक्कै सुमधुर बनेको बताइएको छ । मेसीले व्यावसायिक फुटबलमा अहिलेसम्म बार्सिलोनावाहेक अन्य क्लबबाट खेलेका छैनन् ।

लापोर्टाले दाबी गरेअनुसार मेसी र क्लबबीच दुई वर्षका लागि नयाँ सम्झौता गर्ने कुरामा सहमतिको नजिक पुगिसकेको छ । 

‘मेसीका एजेन्टसँग हाम्रो कुराकानी अत्यन्तै सकारात्मक ढंगमा अगाडि बढिरहेको छ । अहिलेसम्म सहमति भइसकेको छैन । तर मेसी स्वयम बार्सिलोना बस्न चाहन्छन् र क्लब पनि उनलाई राख्न चाहन्छ । त्यसैले उनको सम्झौता नवीकरण हुनेमा म विश्वस्त छु,’ लापोर्टाले भनेका छन् ।

बार्सिलोनाले नयाँ सिजनको तयारीका लागि म्यानचेस्टर सिटीबाट मेसीका अर्जेन्टिनी टिम सहयात्री फरवार्ड सर्जियो अग्विरो र रक्षक इरिक गार्सियालाई अनुबन्ध गरिसकेको छ ।