एर्लिङ हल्यान्ड

हल्यान्डले क्लोपसँग खेल्नु उत्कृष्ट हुन्छः गुलिट

लन्डन । बोरुसिया डर्टमन्डका फरवार्ड एर्लिङ हल्यान्डले लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपसँग खेल्न उपयुक्त हुने नेदरल्यान्ड्सका पूर्व खेलाडी रुड गुलिटले बताएका छन् ।

नर्वेका २१ वर्षीय स्ट्राइकर हल्यान्डलाई भित्राउन हाल युरोपका शीर्ष क्लबहरुको चर्को प्रतिस्पर्धा चलिरहको छ । हल्यान्डको रिलिज क्लज ७५ मिलियन युरो रहेको सार्वजनिक भएको छ ।

हल्यान्डलाई भित्राउने दौडमा इङ्लिस क्लब म्यानचेस्टर सिटी सबैभन्दा अग्रपङ्तीमा रहेको छ । यस्तै म्यानचेस्टर युनाइटेड, लिभरपुलसँगै स्पेनिस लिगका रियाल मड्रिड र बार्सिलोना पनि यस दौडमा छन् ।

‘म उनी इङ्ल्यान्डमा आउन सक्ने सम्भावना देख्छु । तर, उनी म्यानचेस्टर युनाइटेड जान्छन जस्तो मलाई लाग्दैन । पेप ग्वार्डिओलाका कारण सिटी उनका लागि उपयुक्त विकल्प हुनसक्छ,’ गुलिटले भने, ‘तर, जर्गेन क्लोप र लिभरपुल हल्यान्डका लागि उत्कृष्ट गन्तव्य हुनेछ । जर्गेनले लिभरपुलबाट अविश्वसनिय उपलब्धी हासिल गरेका छन् । क्लोप जितको भोको छन् र हल्यान्डका लागि उनी उत्कृष्ट बन्न सक्नेछन् ।’

सन् २०२० को जनवरी १८ मा डर्टमन्डबाट ‘डेब्यु’ गरेदेखि हल्यान्डले ७९ खेलमा ८० गोल र १७ असिस्ट गरेका छन् ।