राखेप

सदस्यसचिव अन्यौलः तीन संघले गरे संयुक्त शान्तिपूर्ण आन्दोलन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) को नेतृत्व विवादको कारण खेलकुदलाई ठप्प नबनाउन तथा खेलकुद, खेलाडी र खेलकर्मीको भविष्यमा खेलवाड नगर्न माग गर्दै बिहीबार तीन खेलकुद संघले शान्तिपूर्ण आन्दोलन गरेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र राखेप परिसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपी), नेपाल ओलम्पियन संघ र राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघले शान्तिपूर्ण आन्दोलन गरेका हुन् । आन्दोलनमा विभिन्न खेलका खेलाडी, प्रशिक्षक तथा खेलकर्मीको उपस्थिति थियो ।

तीन संघले राखेपको सदस्य सचिव बर्खास्ती र नयाँ सदस्य सचिवको नियुक्तिको विषयमा सर्वोच्च अदालतमा परेको रिटको किनारा लगाउन अदालत समक्ष आग्रह गरेको छ । त्यस्तै परिषदको कामकारबाही नियमित राख्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गरेको छ ।

No description available.

सरकारले कार्तिक एक गते तत्कालिन सदस्यसचिव रमेशकुमार सिलवाललाई बर्खास्त गर्दै १३ गते टंकलाल घिसिङलाई नियुक्त गरेको थियो । सिलवालले आफ्नो बर्खास्ती रोक्न र घिसिङको  नियुक्ती खारेजीको माग गर्दैै दायर गरेको मुद्दामा सर्वोेच्चले अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।

त्यसयता दुई पटक यस रिटमा सुनुवाईको लागि पेशी चढे पनि दुवै पटक सरेको थियो । माघ २८ गते सर्वोच्चले यस विषयमा सुनुवाईको पेशी तोकेको छ ।

राखेपमा सदस्य सचिव नहुँदा यसै वर्ष चीनमा हुने एसियन खेलकुुद, नवौं राष्ट्रिय खेलकुद, १४औं दक्षिण एसियाली खेलकुद (साग) का साथै अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी प्रभावित भएको एनएनआइपी, ओलम्पियन संघ र कर्मचारी संघले उल्लेख गरे ।