स्पेनिस ला लिगा

एट्लेटिकोको रोमाञ्चक जित

मड्रिड । इन्जुरी समयमा गरेको दुई गोलमा एट्लेटिको मड्रिडले शनिबार स्पेनिस ला लिगामा भ्यालेन्सियामाथि ३-२ को पुनरागमन जित हात पारेको छ ।

युनुस मुस्ह र ह्युगो डुराको गोलमा भ्यालेन्सियाले अग्रता लिएपछि डिएगो सिमोनीको टोली सबै खाले प्रतियोगिता गरि लगातार तेस्रो हारको संघारमा पुगेको थियो । 

म्याथ्युस कुनाको गोलमा खेलमा फर्कने संकेत गरेको एटेलेटिकोका लागि इन्जुरी समयमा एन्जल कोरिया र मारियो हेर्मोसोले गोल गर्दै एट्लेटिकालाई रोमाञ्चक जित दिलाएका थिए । 

भ्यालेन्सियामाथिको जितपछि एट्लेटिको २१ खेलमा ३६ अंकसहित चौथो स्थानमा छ । जुन एक खेल बढी खेलेको तेस्रो स्थानको रियाल बेटिस भन्दा चार अंक कम हो । भ्यालेन्सिया भने २९ अंकसहित नवौ स्थानमा यथावत छ । 

२५औं मिनेटमा मुस्हको गोलमा भ्यालेन्सियाले अग्रता लियो । ४४र्औं मिनेटमा डुराले भ्यालेन्सियाको अग्रता दोब्बर पारेका थिए ।  

६४औं मिनेटमा कुनाले एट्लेटिकोलाई खेलमा फर्काउने संकेत गरेका थिए । इन्जुरी समयको पहिलो मिनेटमाम कोरियाले एट्लेटिकोलाई खेलमा फर्काएका थिए ।

 त्यसको दुई मिनेटपछि नै हेर्मोसोले बललाई पोस्टको दिशा दिँदै एट्लेटिकोका लागि तीन अंक पक्का गरेका थिए ।