इङ्लिस प्रिमियर लिग

भिल्लामाथि चेल्सीको सहज जित

लन्डन । एस्टन भिल्लालाई ३-१ ले हराउँदै चेल्सीले इङलिस प्रिमियर लिगको दोस्रो स्थानको लिभरपुलसँग अंक बराबरी गरेको छ ।

२८औं मिनेटमा चेल्सीका रिसी जेम्सको आत्मघाती गोलमा भिल्लाले अग्रता लिएको थियो । त्यसको ६ मिनेटपछि नै जर्जिन्होले पेनाल्टीको सदुपयोग गर्दै चेल्सीलाई खेलमा फर्काएका थिए ।

५६औं मिनेटमा स्ट्राइकर रोमेलु लुकाकुको गोलम चेल्सीले अग्रता लियो । सेप्टेम्बरपछि लुकाकुको चेल्सीका लागि यो पहिलो गोल हो । यसअघि लुकाकुले सेप्टेम्बर ११ मा घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भिल्लाविरुद्ध दुई गोल गरेका थिए । 

इन्जुरी समयको तेस्रो मिनेटमा प्राप्त पेनाल्टीको सदुपयोग गर्दै जिर्जिन्होले चेल्सीलाई ३-१ को सहज जित दिलाए ।

१९ खेलमा ४१ अंक बटुलेको चेल्सीले समान अंकसहित दोस्रो स्थानमा बसेको लिभरपुलसँग अंक बराबरी गरेको हो । यद्धपी लिभरपुलले एक खेल कम खेलेको छ । लिभरपुल र लिड्स युनाइटेडबीचको खेल आइतबार रद्द भएको थियो ।

म्यानचेस्टर सिटीले भने गोलको वर्षा भएको खेलमा लेस्टर सिटीलाई ६-३ ले पराजित गर्दै शीर्ष स्थान थप बलियो पारेको छ । शीर्ष स्थानको सिटीको ४७ अंक छ ।