च्याम्पियन्स लिग

च्याम्पियन्स लिग : नकआउट चरण पुग्ने प्रतिस्पर्धामा कस्को अवस्था के ?

पेरिस । युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिग समूह चरणमा यो साता अन्तिम चरणका खेल हुँदैछन् । जहाँ अन्तिम १६ मा स्थान सुरक्षित गर्नका लागि थुप्रै टिमले फरक खालका चुनौती सामना गर्नुपर्नेछ ।

स्पेनिस महारथी बार्सिलोनाले २१ वर्षमा पहिलो पटक समूह चरणमै यात्रा समाप्त हुने खतराबाट जोगिन बायर्न म्युनिख भ्रमणमा जित निकाल्नु पर्नेछ ।

समूह ‘जी’मा भने सबै चार टोलीको अन्तिम १६ पुग्ने सम्भावना कायम छ । जसका कारण अन्तिम चरणका खेलबाट नकआउट चरण पुग्ने दुई र समूह चरणबाटै बाहिरिने दुई टोलीको टुंगो लाग्नेछ ।

च्याम्पियन्स लिगमा सबै आठ समूहका शीर्ष दुई टोली नकआउट चरणलाई छानिन्छन् । शीर्ष टोलीले आगामी चरणको ‘ड्र’का लागि वरियता प्राप्त गर्नेछ । यसैगरी समूहमा तेस्रो हुने टिम युरोपा लिगलाई छानिन्छ । जवकि पुछारमा सीमित हुने टोली भने समूह चरणबाटै बाहिरिनेछ । टोलीहरुबीच अंक बराबरी भए हेड टु हेड नतिजाका आधारमा निर्णय लिइनेछ ।

नकआउट चरण पुग्नेहरु

समूह चरणको पाँचौं खेलबाट म्याचनेस्टर सिटी, पेरिस सेन्ट जर्मन (पिएसजी), म्यानचेस्टर युनाइटेड, स्र्पोटिङ लिस्बन, रियाल मड्रिड, इन्टर मिलान र चेल्सीले नकआउट चरणको टिकट काटिसकेका छन् ।

त्यसअघि आयाक्स, लिभरपुल, बायर्न म्युनिख र युभेन्टसले अन्तिम १६ को यात्रा पक्का गरिसकेका थिए ।

प्रतियोगिताबाट बाहिरिइसकेकाहरु

बेसिक्टास, माल्मो एफसी, आरबी लिपजिग, क्लब ब्रुगे, बोरुसिया डर्टमन्ड, डिनामो किभ, योङ ब्वाइज, शेरिफ युनाइटेड, शाख्तर डोनेस्क र जेनिट सेन्ट पिटसबर्गको शीर्ष दुईमा रहेर अघिल्लो चरण पुग्ने सम्भावना समाप्त भइसकेको छ ।

पछिल्लो खेलमा स्पोर्टिङ लिस्बनसँग ३-१ को नतिजामा स्तब्ध भएपछि डर्टमन्डले युरोपा लिगमा भाग्य खोज्नुपर्ने भएको छ ।

समूह चरणका पाँच खेलमा १४ गोल खाएर एउटै अंक जोड्न नसकेको बेसिक्टासको नतिजा भने च्याम्पियन्स लिगका पछिल्ला वर्षहरुमा कुनै पनि टोलीले गरेको सबभन्दा खराब प्रदर्शन हो ।

समूह ‘ए’

समूहको अन्तिम खेलमा आज मंगलबार राति आरबी लिपजिग र म्यानचेस्टर सिटी तथा पिएसजी र क्लब ब्रुगेबीच खेल हुनेछन् ।

सिटीले अघिल्लो खेलमा पिएसजीमाथि २–१ को जित निकाल्दै समूह विजेताका रुपमा अन्तिम १६ को यात्रा पक्का गरिसकेको छ ।

पिएसजी भने सिटीसँग हारे पनि अर्को खेलमा आरबी लिपजिगले क्लब ब्रुगेलाई ५–० को नतिजामा हराएपछि अघिल्लो चरणको यात्रा गर्न सफल भएको थियो ।

समूहबाट अघिल्लो चरण जाने टोलीको टुंगो लागिसकेको अवस्थामा क्लब ब्रुगे र लिपजिगबीच युरोपा लिगलाई छानिने प्रतिस्पर्धा हुनेछ । दुवै टोलीको खातामा समान चार अंक छ । तर हेड टु हेड नतिजामा लिपजिग माथि छ ।

हेड टु हेडमा कमजोर रहेका कारण ब्रुगेले आज राति पिएसजीसँग अंक खोस्नुपर्नेछ । सँगै सिटीविरुद्धको खेलमा लिपजिग भने पराजित भएको हेर्न पाउनुपर्नेछ ।

समूह ‘बी’

समूहको अन्तिम खेलमा आज एफसी पोर्टोले एट्लेटिको मड्रिड र एसी मिलानले यसअघि नै विजेताका रुपमा अगाडि बढिसकेको लिभरपुलसँग प्रतिस्पर्धा गर्नेछन् ।

एफसी पोर्टोले आजको खेलमा एट्लेटिकोमाथि जित हासिल गर्न सके उपविजेताका रुपमा अन्तिम १६ प्रवेश गर्नेछ । बराबरीमा सीमित भए मिलानले लिभरपुललाई हराउन नसकेको अवस्थामा मात्र पोर्टोको सम्भावना जीवित रहन्छ ।

मिलानले भने नकआउट चरण पुग्नका लागि आजको खेलमा लिभरपुललाई जित्नुपर्नेछ । हेड टु हेडमा पोर्टोसँग कमजोर अवस्थामा रहेकाले आज लिभरपुलसँग अंक बाँडेमा टोली युरोपा लिगमा सीमित हुनेछ ।

मिलानसँग पराजित भएपछि एट्लेटिकोको अन्तिम १६ पुग्ने सम्भावना समाप्त भइसकेको छ । त्यसैले युरोपा लिगलाई छानिनका लागि टोलीले पोर्टोमाथि जित हासिल गर्नुपर्नेछ साथमा लिभरपुलसँग मिलान पराजित भएको हेर्न पाउनुपर्नेछ ।

समूह ‘सी’

विजेताका रुपमा नकआउट चरण पुगिसकेका आयाक्स र स्पोर्टिङ लिस्बनले प्रतिस्पर्धा गर्दा समूह ‘सी’मा आज राति बोरुसिया डर्टमन्डले बेसिक्टाससँग खेल्नेछ ।

शीर्ष दुई टोलीबीच विजेता र उपविजेताको समेत टुंगो लागिसकेको छ । यसैगरी पुछारका दुई टोलीबाट पनि युरोपा लिगलाई छानिने र बाहिरिनेको निर्णय भइसकेको छ । डर्टमन्ड युरोपा लिगको तयारीमा रहँदा बेसिक्टासको प्रतियोगितायात्रामा पूर्णविराम लागिसकेको छ ।

सबै चार टोलीको टुंगो लागिसकेका कारण समूह ‘सी’का खेलहरु औपचारिकतामा मात्र सीमित हुनेछन् ।

समूह ‘डी’

समूहको अन्तिम खेलमा आज राति नकआउट चरणमा स्थान सुरक्षित गरिसकेका रियाल मड्रिड र इन्टर मिलानले एकअर्काको सामना गर्दा च्याम्पियन्स लिगको नवप्रवेशी शेरिफ युनाइटेडले शाख्तर डोनेश्कसँग प्रतिस्पर्धा गर्नेछ ।

शाख्तर युरोपेली प्रतियोगिताबाट बाहिरिइसकेको छ भने च्याम्पियन्स लिगको डेब्यु सिजनमै तहल्का मच्चाएका शेरिफ युरोपा लिगलाई छानिइसकेको छ ।

शीर्ष दुई टोलीबीचको भिडन्तले भने समूह विजेताको टुंगो लगाउनेछ ।

विजेताको हैसियतका साथ अन्तिम १६ को ‘ड्र’मा जानका लागि रियालले आज इन्टर मिलानसँग हार टार्नुपर्नेछ । जबकि विजेता बन्नका लागि इन्टरसामू भने जितको विकल्प हुने छैन ।

समूह ‘इ’

समूह ‘इ’बाट बायर्न म्युनिखले यसअघि नै विजेताको रुपमा नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको छ ।

२१ वर्षमा पहिलो पटक च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिने दूर्भाग्यबाट बाच्नका लागि बार्सिलोनाले बायर्न भ्रमणमा जित निकाल्न सक्नुपर्नेछ । त्यसो हुन नसकेको अवस्थामा बेन्फिकाले डिनामो किभलाई हराउन नसके पनि बार्सिलोना अगाडि बढ्नेछ ।

बार्सिलोनामाथि हेड टु हेडमा रवाफ जमाएको बेन्फिकाले समूहको अन्तिम खेलमा डिनामो किभलाई पराजित गर्नुका साथै बार्सिलोनाले बायर्नलाई हराउन नसके नकआउट चरणको टिकट काट्नेछ ।

समूह ‘एफ’

दोस्रो स्थानमा रहेको भियारियालमाथि दुवै लेगमा जित हासिल गरेको म्यानचेस्टर युनाइटेड समूह विजेताका रुपमा अन्तिम १६ पुगिसकेको छ ।

भियारियालले समूहको अन्तिम खेलमा एट्लान्टासँग बराबरीमात्र गर्न सके पनि उपविजेताका रुपमा अन्तिम १६ को यात्रा गर्नेछ । तर एट्लान्टाले जित हासिल गरेमा भने च्याम्पियन्स लिगको नकआउट चरणको यात्रा गर्नेछ । त्यसो हुँदा भियारियाल युरोपा लिगमा सीमित हुनेछ ।

च्याम्पियन्स लिगबाट बाहिरिए पनि योङ ब्वाइजसामू युरोपा लिगलाई छानिने सम्भावना छ । त्यसको लागि टोलीले अन्तिम खेलमा म्यानचेस्टर युनाइटेडलाई हराउन सक्नुपर्नेछ । साथमा एट्लान्टामाथि भियारियालले जित हासिल गरेको पनि हेर्न पाउनुपर्नेछ ।

समूह ‘जी’

समूह ‘जी’मा सबै चार टोलीको बीचमा तीन अंककोमात्र अन्तर भएकाले सबै टोलीको नकआउट चरण पुग्ने सम्भावना कायम छ ।

अन्तिम दिनको खेलबाट च्याम्पियन्स लिगको अन्तिम १६ पुग्ने दुई, युरोपा लिग खेल्ने एक र बाहिरिने अर्को टोलीको टुंगो लाग्नेछ ।

सबै खाले सम्भावना जीवित रहेकाले समूहको अन्तिम दिन साल्जबर्ग र सेभिया तथा उल्फसबर्ग र लिलेबीच हुने खेलको महत्व विशेष हुनेछ ।

उल्फसबर्गको भ्रमणमा जाँदा हार मात्र टार्न सके लिले अघिल्लो चरणका लागि छनोट ुहनेछ । जित हासिल गर्न सके टोलीले विजेताको हैसियत सुरक्षित गर्नेछ भने पराजित भएमा युरोपा लिगमा चित्त बुझाउनुपर्नेछ ।

साल्जबर्गको अवस्था पनि लिलेको जस्तै छ । अन्तिम १६ यात्राका लागि सेभियाविरुद्ध हार टार्न सके टोलीलाई पर्याप्त हुनेछ ।

विजेता बन्नका लागि भने आफूले सेभियालाई हराउनुको साथै लिलेले अंक गुमाएको हेर्न पाउनुपर्नेछ । आफू पराजित भएमा भने युरोपा लिगमा स्थान खोज्न समेत टोलीले अर्काको नतिजामा भर पर्नु पर्न सक्नेछ ।

सेभियाले साल्जबर्गमाथि जित हासिल गरेमा टोलीको अघिल्लो चरण यात्रा पक्का हुनेछ । बराबरीमा सिमित भए भने युरोपा लिग खेल्नका लागि पनि उल्फसबर्ग विजयरहित भएको हेर्न पाउनुपर्नेछ ।

उल्फसबर्ग समूहको पुछारमा छ । तथापि लिलेविरुद्धको खेलमा जित हासिल गर्न सके टोलीले नकआउट चरणको टिकट काट्नेछ । तर जित हासिल गर्न नसकेमा भने टोलीको युरोपा लिग खेल्ने सम्भावना हुने छैन । हारले उल्फसबर्गलाई सोझै युरोपेली प्रतियोगिताबाट बाहिर धकेल्नेछ ।

समूह ‘एच’

समूह ‘एच’मा अन्तिम दिन जेनिट सेन्ट पिट्सबर्गले चेल्सी तथा युभेन्टसले माल्मो एफएफसँग प्रतिस्पर्धा गर्दैछन् ।

चेल्सी र युभेन्टस यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेका छन् । त्यसैले यी दुई शीर्ष टोलीका लागि विजेता बन्नुको अर्थ हुनेछ । चेल्सी र युभेन्टस दुवैको खातामा समान १२ अंक रहेकाले दुवैका लागि आफ्नो खेलसँगै अर्को खेलको नतिजाले पनि अर्थ राख्नेछ ।

नकआउट चरण पुग्ने दुई टोलीसँगै यो समूहबाट युरोपा लिग खेल्नका लागि पनि जेनिट सेन्ट पिट्सबर्गको टुंगो लागिसकेको छ । माल्मो भने प्रतियोगिताबाट बाहिरिइसकेको छ ।