इङ्लिस प्रिमियर लिग

न्युक्यासलको जितविहीन यात्रा निरन्तर

लन्डन । इङ्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडको जितविहिन यात्राले १४औं खेल सम्म निरन्तरता पाएको छ ।

प्रिमियर लिग अन्तर्गत मंगलबार भएको खेलमा न्युक्यासल नर्विचसँग १-१ को बराबरीमा रोकियो ।

१४ खेलको समाप्तीमा सात अंकका साथ प्रिमियर लिगको अन्तिम स्थानमा बसेको न्युक्यासलले यस सिजन जितको स्वाद चाख्न पाएको छैन ।

नवौ मिनेटमा काइरन क्लार्क रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरएपछि न्युक्यासलले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो ।

६१औं मिनेटमा कालुम विल्सनको पेनाल्टी गोलमा न्युक्यासले अग्रता लिएको थियो । ७९औं मिनेटमा नर्विचका टिमु पुकीले गोल गरेको गोलमा लिगको पहिलो जितबाट न्युक्यासल वञ्चित भएको थियो ।

मंगलबार भएको अर्को खेलमा राफिन्हाले इन्जुरी समयमा गरेको पेनाल्टी गोलमा लिड्स युनाइटेडले क्रिस्टल प्यालेसलाई १-० ले हराएको थियो ।