शहिद स्मारक ए डिभिजन लिग

मच्छिन्द्र र आर्मी भिड्दैः २०७६ लिग अन्तिम खेलको झल्को

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगअन्तर्ग सोमबार दोस्रो खेलमा साविकको विजेता मच्छिन्द्र फुटबल क्लब र उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब आमने सामने हुँदा सो खेलले २०७६ को लिगको अन्तिम खेलको झल्को दिनेछ ।

दुई वर्षअघि लिगको अन्तिम खेलमा भिड्दा आर्मीलाई एक अंकले मात्र पनि लिग उपाधि दिलाउथ्यो । मच्छिन्द्रलाई भने लिग च्याम्पियन बन्न आर्मीविरुद्ध तीन अंक आवश्यक थियो । आर्मीले मच्छिन्द्रलाई १-० को नतिजा सुम्पिएसँगै उपविजेतामा चित्त बुझाएको थियो ।
यस पटकको लिगमा भने उपाधिका दाबेदार मानिएका आर्मी र मच्छिन्द्र दोस्रो खेलमै आमने सामने हुन लागेका हुन् ।

मच्छिन्द्रको टोलीमा वर्तमान राष्ट्रिय टोलीका साथै कुनै न कुनै समय राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका खेलाडीको बाहुल्यता रहेको छ ।

 मच्छिन्द्रले पहिलो खेलमा एनआरटीमाथि २-१ को जितसहित लिग उपाधि रक्षाको सुखद थालनी गर्दा आर्मी भने पहिलो खेलमा अर्को विभागिय टोली नेपाल पुलिस फुटबल क्लबसँग १-१ को बराबरीमा रोकिएको थियो ।

मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले आर्मीविरुद्धको खेल निकै महत्वपूर्ण रहेको बताए ।

‘हामीले दुई वर्षअघि लिग उपाधि जित्दा अन्तिम खेलमा आर्मीको सामना गरेका थियौ’, प्रवेशले भने, ‘यस पटक भने हामी दोस्रो खेलमै भेट्दैछौ । आर्मी उपाधिकै दाबेदार टोली हो । हामीले राम्रो तयारी गरेका छौ । त्यसैले आर्मीविरुद्ध जितका साथ सुखद नतिजाको निरन्तरता दिन चाहन्छौ ।’

आर्मी भने दुई वर्ष अघि व्यहोरेको हारको बदला लिँदै लिगमा  पहिलो तीन अंक बटुल्ल चाहन्छ ।