सहिद स्मारक लिग

उपाधि रक्षाको सुखद थालनी गर्ने लक्ष्यमा मच्छिन्द्र

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत सोमबार दोस्राे खेलमा  न्युरोट टिम (एनआरटी) को सामना गर्दा साविक विजेता मच्छिन्द्र फुटबल क्लब जितसहित उपाधि रक्षाको यात्रा सुरुआत गर्न चाहन्छ । 

स्टार खेलाडीले भरिएको मच्छिन्द्रले २०७६ मा अन्तिम खेलामा आर्मीलाई हराउँदै उपाधि जितेको थियो ।

‘हामीले आक्रामक रणनिती लिएर नै टोली बनाएका छौ’, मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले भने, ‘उपाधि जित्नु भन्दा उपाधि रक्षा गर्न कठिन हुन्छ । त्यसैले पहिलो खेलबाटै उत्कृष्ट प्रदर्शनका साथ उपाधि रक्षा यात्रा सुरुआत गर्न चाहन्छौ । ’

यस पटक मच्छिन्द्रको कप्तानी राष्ट्रिय टोलीका मिडफिल्डर सुजल श्रेष्ठले गर्नेछन् ।

यता एनआरटकिा प्रशिक्षक राजुकाजी शाक्य भने मेसुके र स्टेफिन बिनोङको उपस्थितीमा टोलीले सुखद नतिजा ल्याउनेमा आशाबादी छन् ।

‘टोली राम्रो बनेको छ । हामीले युवा खेलाडीलाई प्राथमिकतामा राखेका छौ’, शाक्यले भने, ‘यस पटक टोलीमा नेपाल सुपर लिग(एनएसएल) का उत्कृष्ट खेलाडी मेसुके र बिनोङ टोलीमा अनुबन्धन भएका छन् । उनीहरुको उपस्थितीले टोलीले सुखद नतिजा ल्याउनेमा हामी आशाबादी छौ ।’

खेल दिउँसो ४ः४५ बजे त्रिपुरेश्वरस्थित दशरश रंगशालामा हुनेछ ।