फ्रेन्च लिग वान

रामोसको गोलमा हारबाट जोगियो पिएसजी

काठमाडौं । गोन्कालो रामोसले खेलको अन्त्य तिर गोल गरेपछि लिग लिडर पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च लिग वानमा शनिबार पुछारको क्लेरमोन्ट फुटलाई १-१ को बराबरीमा रोकेको छ ।

बराबरीसँगै पिएसजीले २८ खेलमा ६३ अंक जोडेको छ । क्लेरमोन्टको समान खेलबाट २१ अंक छ ।

पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा खेलको ३२औं मिनेटमा हाबिब केइटाको गोलमार्फत क्लेरमोन्टले अग्रता लिएको थियो । उनले एलन भर्जिनियसको पासलाई पोस्टको दिशा दिए ।

निर्धारित समय सकिन पाँच मिनेट बाँकी छँदा रामोसले गोल गर्दै पिएसजीलाई हारबाट जोगाए । उनले केलियन एमबाप्पेको पासलाई सदुपयोग गरे ।