इङ्लिस प्रिमियर लिग

आर्सनल शीर्ष स्थानमा उक्लियो

काठमाडौं । बेन्टफोर्डविरुद्ध २–१ को जित निकाल्दै आर्सनल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । २८ खेल खेलेको आर्सनलको ६४ अंक छ । एक खेल कम खेलेको लिभरपुलको ६३ र म्याचेष्टर सिटीको ६२ अंक रह्यो ।

खेल सकिन चार मिनेट बाँकी रहँदा काइ हाभेर्टजले विजयी गोल गरेका थिए । वेन वाइटले मिलाएको पासमा उनले सहज गोल गरेपछि आर्सनल विजयी भएको हो । यसअघि दुबै टोलीले १–१ को बराबरी खेलेका थिए ।

खेलमा अग्रता घरेलु टोली आर्सनलले नै बनाएको थियो । डेक्लेन रिसले १९औं मिनेटमा पहिलो गोल गरे । पहिलो हाफको इन्जुरी समयमा योअने विसाले गोल गर्दै ब्रेन्टफोर्डलाई बराबरीमा ल्याएका हुन् ।

राति नै भएको अन्य खेलमा उल्भ्सले फुलहमलाई २–१, म्यानचेष्टर युनाइटेडले एभर्टनलाई २–० हरााए । बर्नामाउथ र सेफिल्ड युनाइटेड २–२ तथा क्रिष्टल प्यालेस र लुटन टावसले १–१ गोलको बराबरी खेलेका छन् ।