झापा गोल्डकप

आर्मीलाई हराउँदै एपिएफ फाइनलमा

बिर्तामोड । विभागीय डर्बीमा चार पटकको विजित त्रिभुवन आर्मी क्लबलाई १-० ले पराजित गर्दै नेपाल एपिएफ फुटबल क्लब छैटौँ झापा गोल्डकपको फाइनल प्रवेश गरेको छ ।

फाइनल पुगेसँगै एपिएफले कम्तिमा ७ लाख रुपैयाँ सुरक्षित गरेको छ । बिर्तामोडस्थित डोमलाल राजवंशी रंशालामा  शुक्रबार सम्पन्न खेलमा एपिएफले आत्मघाती उपहार गोलको मद्दतले फाइनल यात्रा गरेको हो ।

एपिएफका विदेशी खेलाडी फोडे फोफोनाले ७०औं मिनेटमा गरेको प्रहारले आर्मीका रक्षक कमल थापालाई लाग्दै जाली चुमेको थियो ।

खेलको ४२औंँ मिनेटमा फोफोनाले दिएको क्रस पासमा एपिएफका अनिश महर्जनले गोल गर्न सकेनन् । ४७औँ मिनेटमा सर्ज सोङले पेनाल्टी एरियाबाट गरेको प्रहार बारको नजिकबाट बाहिरियो । ६९औँ मिनेटमा बुद्धिमान राईले पेनाल्टी एरियाबाट गरेको प्रहार फितलो भयो ।

आर्मीले भने रक्षात्मक खेल खेलेको थियो । आर्मीले एपिएफविरुद्ध खासै मुभ सिर्जना गर्न सकेन । खेलको ४३औँ मिनेटमा कप्तान भरत खवासले बक्सभित्र पाएको बललाई प्रहार गर्न नसक्दा आर्मीले अग्रता लिने अवसर गुमायो ।

शनिबार दोस्रो तथा अन्तिम  सेमिफाइनलमा र्च ब्वाइज युनाइटेडले आयोजक झापा ११ एफसीको सामना गर्नेछ ।

प्रतियोगिताको फाइनल खेल फागुन २८ गते हुनेछ ।  १० टोली सहभागी प्रतियोगिताको विजेता १३ लाख रुपैयाँसहति आकर्षक ट्रफी र उपविजेताले नगद ७ लाख प्राप्त गर्नेछन्  ।

खेलपछि भएको पोस्ट म्याच कन्फ्रेन्समा विजेता टिम एपिएफका प्रशिक्षक सुमन श्रेष्ठले विदेशी खेलाडीलाई झापाको मौसममा खेल्न सहज भएकाले जित निकाल्न सकेको बताए । उनले खेलाडीबीच तालमेल मिल्दै गएकाले फाइनलमा यो भन्दा सुधारिएको प्रदर्शन गर्ने जनाए ।

आर्मीका प्रशिक्षक मेघराज केसीले मिडफिल्ड चल्न नसक्दा गोल भएको बताए । दिनेश हेम्जन र जिलस्पीजंग कार्की घाइते भएकाले उनीहरुको अभाव खड्किएको उनको भनाइ थियो ।