झापा गोल्डकप

चर्च ब्वाइजको विजयी सुरुआत

झापा । ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबले अर्ना झापा गोल्डकपको छैटौँ संस्करणमा विजयी  सुरुआत गरेको छ ।

बिर्तामोडस्थित डोमलाल राजवंशी खेल मैदानमा आइतबार चर्च ब्वाइजले विभागीय टोली नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्यो । जितसँगै चर्च ब्वाइजले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

चर्च ब्वाइजले पहिलो पटक झापा गोल्डकपमा  सहभागिता जनाएको हो । पुलिस यसअघिका पाँच वटै संस्करणमा पनि पहिलो चरणमै घर फर्किएको थियो । पुलिस योपटक पनि पहिलो चरणमै घर फर्किन बाध्य बन्यो ।

खेलको ५३औँ मिनेटमा अबयोमीलाई पुलिसका गोलकिपर सञ्जित श्रेष्ठले पेनाल्टी बक्समा फउल गरेपछि चर्च ब्वाइजले पेनाल्टीको अवसर पाएको थियो । उक्त पेनाल्टीलाई सदुपयोग गर्दै अबयोमीले नै टोलीलाई अग्रता दिलाए ।

अबयोमीको क्रस पासमा गोल  गर्दै समिर तामाङले ७८औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । पेनाल्टी एरियामा अनमार्क रहेका तामाङले दायाँ बार च्याप्दै गरेको प्रहारले जाली चुमेको थियो ।

खेलको ६५औँ मिनेटमा अबयोमीले अग्रता दोब्बर गर्ने अवसर गुमाए । पेनाल्टी बक्सबाट गरेको उनको प्रहार पोस्ट नजिकबाट बाहिरियाे ।

पुलिसका सञ्जीव लामाले ४३औं मिनेटमा गरेको फ्रिकिकलाई चर्च ब्वाइजका गोलकिपर दीप कार्कीले पञ्च गरेर बचाए ।

 पुलिसले ६९ औँ मिनेटमा अर्को खेर अवसर फाल्याे । विकास विकको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।उक्त  बललाई आशिष राईले प्रहार गर्दा बारको नजिकैबाट बाहिरिएपछि पुलिस बराबरी गर्ने अवसरबाट बञ्चित भयो ।

खेलपछि चर्च ब्वाइजका प्रशिक्षक रुविन राईले नयाँ मैदानमा खेल्दा अपेक्षाकृत गोल हुन नसकेको बताए । उनले टोलीको प्रदर्शन लिग विजेता जस्तो नरहेको स्विकारे ।

पुलिसका प्रशिक्षक चेतन घिमिरेले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा हार ब्यहोर्नु परेको बताए । उनले नयाँ खेलाडीलाई अवसर दिँदा अनुभवको कमीसमेत देखिएको बताए ।

सोमबार हुने पहिलो क्वार्टरफाइनलमा विभागीय टोली नेपाल एपिएफ एफसीले सर्लाहीको बागमती युवा क्लबको सामना गर्नेछ।