भक्तपुर कप फुटबल

खेलाडी नेपाल इको प्यानलको जर्सीमा मैदानमा उत्रेपछि विवाद

काठमाडौं । भक्तपुरमा शुक्रबारदेखि जारी तेश्रो भक्तपुर कप फुटबल प्रतियोगितामा आइतबार विवाद भएको छ ।

प्रतियोगितामा प्रतिस्पर्धीहरुमध्येको एक भक्तपुर फुटबल क्लबका खेलाडीहरु एउटा व्यापारिक घरानाको जर्सी लगाएर मैदानमा उत्रेपछि विवाद भएको हो । निर्माण सामाग्री उत्पादन कम्पनीको जर्सी लगाएर खेलाडी मैदानमा आएपछि खेल अगाडि र पछाडि षडयन्त्र भएको क्लबकाे   आरोप छ ।

खेलाडीका अनुसार निर्माण सामाग्री कम्पनीको जर्सीमा  मैदान उत्रेपछि खेल्न दिने र नदिने विषयमा विवाद भएको थियो । तर अन्तमा खेल खेल्न दिइएको थियो । तर आयोजकबाटै जवरजस्ती खेलमा पराजित गराउने षडयन्त्र भएको  भक्तपुर क्लबका खेलाडीको आरोप छ ।  

उनीहरुका अनुसार क्लबलाई हराउन आयोजकले खेलाडी नै परिवर्तन गरेकाे थियो । जसरी पनि हराउने उदेश्यले राष्ट्रिय खेलाडीहरु ल्याएर खेलाइएकाे आरोप उनीहरुको छ ।  

भक्तपुरको महेश्वरी खेल मैदान भइरहेको प्रतियोगितामामा भक्तपुर फुटबल क्लवका खेलाडीहरु नेपाल इको प्यानलले प्रायोजन गरेको जर्सीमा मैदानमा पुगेका थिए । त्यही विषयमा आयोजक र भक्तपुर फुटबल क्लबवीच विवाद भएको थियो ।

खेलमा भक्तपुर फुटबल क्लब २-१ ले पराजित भएको थियो ।  

भक्तपुर फुटबल क्लबका अध्यक्ष राम प्रजापतीले आफूहरुको प्रोत्साहनका लागि नेपाल इको प्यानलले सहयोग गरिरहेको र हालको तेश्रो भक्तपुर कपका लागि पनि उसले सहयोग गरेको बताए ।

उनका अनुसार फुटबल प्रतियोगिताहरुमा यसरी व्यापारिक संस्थाहरुले आफनो प्रचारप्रसारको लागि जर्सी दिनु र लगाएर खेलाडीहरु मैदानमा प्रतिस्पर्धामा उत्रनु सामान्य हो । उनका अनुसार यस्तो प्रायोजन अरु संघसंस्था र व्यापारिक घरानाहरुले अन्य प्रतियोगिताहरुमा गरिरहेकै हुन्छन् । उनले यस्ता प्रायोजनकै कारण खेल क्षेत्रलाई सहयोग हुने र खेल क्षेत्र अगाडि वढ्दै आएको तर्क राखे ।

भक्तपुरको समग्र फुटबल क्षेत्रलाई अगाडि बढाउन आफूहरुले सक्दो सहयोग गर्दै आएको र भविष्यमा पनि यस्ता सहयोग जारी राख्दै जाने योजनामा रहेको नेपाल इको प्यानलले जनाएको छ ।