झापा गोल्डकप

झापा गोल्डकपको मुख्य प्रायोजकमा अर्ना बियर

बिर्तामोड । झापा गोल्डकपको छैटौँ संस्करणलाई यती ब्रुअरीको उत्पादन अर्ना बियरले मुख्य प्रायोजन गर्ने भएको छ । शुक्रबार मुख्य प्रायोजक अर्ना र झापा गोल्डकपबीच सम्झौता भएको हो ।

झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत र यती ब्रुअरीका कोशी प्रादेशिक म्यानेजर विदुर तिम्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

गोल्डकपका महासचिव गजेन्द्रबहादुर पौडेलले स्वागत गरेको कार्यक्रममा यति ब्रुअरीका सेल्स म्यानेजर सरोज खतिवडा, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, महासचिव तथा भद्रपुर नगरका निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठ, उपाध्यक्ष गौरव सुब्बालगायतको उपस्थिति  थियो ।

झापा गोल्डकप सबैको गौरव भएकाले सबैको साथ र सहयोग आवश्यक भएको अध्यक्ष बस्नेतले बताएका छन् ।

प्रतियोगिता फागुन १९ गतेदेखि २८ गतेसम्म बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । रंगशालामा करिब १० हजार दर्शक बस्न सक्नेगरी बाँसको प्यारापिट निर्माणको गरिएको छ । मैदानको स्तरोन्नति सकिएको छ ।

 झापा गोल्डकपको विजेताले १३ लाख र उपविजेताले ७ लाख रुपैयाँ प्राप्त गर्नेछ । गोल्डकप सम्पन्न गर्न १ करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगितामा आयोजककोतर्फबाट झापा ११ फुटबल क्लब, तीन विभागीयसहित नेपालका ‘ए’ डिभिजन क्लब र मोफसलका क्लबको सहभागिता रहनेछ ।

केही दिनमै खेलतालिका सार्वजनिक गरिने झापा गोल्डकपको सचिवालयले जनाएको छ ।