सावित्रा भण्डारी

हामी उपाधिमा केन्द्रित छौंः सावित्रा भण्डारी

काठमाडाैं । राष्ट्रिय महिला फुटबल टोलीबाट ५० अन्तर्राष्ट्रिय गोल पूरा गरेपछि सावित्रा भण्डारीले सहयोगी तथा समर्थकलाई धन्यवाद दिँदै आफूहरु उपाधिमा केन्द्रित रहेको बताएकी छन् ।

अन्तर्राष्ट्रिय फुटबलमा ५० गोलको कोसेढुङ्गा छुने उनी पहिलो नेपाली खेलाडी हुन् ।

वेष्ट एसियन फुटबल महासंघ (वाफ) वुमन्स च्याम्पियनसिपमा बिहीबार सावित्रा एक्लैले पाँच गोल गरेपछि नेपालले इराकमाथि ५-० को फराकिलो जित निकालेको थियो ।

उक्त खेलमा पाँच गोल गरेसँगै सावित्राले अन्तर्राष्ट्रिय फुटबलमा ५० गोलको आँकडा पूरा गरेकी हुन् । सावित्राले खेलको १४, १६, ४८, ४४ र ८०औं मिनेटमा गोल गरेकी थिइन् ।

साउदी अरेबियामा जारी प्रतियोगितामा नेपालले आमन्त्रीत टोलीका रूपमा पहिलो पटक सहभागिता जनाइरहेको छ ।

‘आज देशका लागि ५० गोल पुगेको छ । यो यात्रामा मलाई साथ सहयोग गर्ने सम्पूर्ण सहयोगी तथा यो माया ममता देखाउने फुटबल समर्थकलाई ह्रदयदेखि धन्यवाद दिन चाहन्छु,’ खेलपछि सावित्राले भनेकी छन्, ‘हामी यो प्रतियोगितामा उपाधिका लागि आएका छौं र  हामी त्यसमा केन्द्रित छौं । आउने दिनमा पनि यसरी नै साथ सहयोगको अपेक्षा गर्दछौं ।’

सन् २०१४ मा भुटानविरुद्ध डेब्यू गरेको केही मिनेटमै उनले पहिलो अन्तर्राष्ट्रिय गोल गरेकी थिइन् । केही समय गम्भीर चोटका कारण टोलीबाहिर रहेपनि उनले पुनरागमन गर्दै आफ्नो स्वभाविक लयलाई कायम राखिरहेकी छन् ।

सावित्राले आफूले खेलेको ४४ मध्ये २५ खेलमा गोल गरेकी छन् । उनले भुटानविरुद्ध सर्वाधिक १० गोल गरेकी छन् ।

यसैगरी माल्दिभ्सविरुद्ध आठ, भारतविरुद्ध ६, इराकविरुद्ध पाँच, कागकिस्ताविरुद्ध चार, श्रीलंकाविरुद्ध तीन, बंगलादेश, इन्डोनेसिया, इरान, मलेसिया र उज्वेकिस्तानविरुद्ध समान दुई तथा म्यानमार, सिरिया, ताजकिस्तान र भियतनामविरुद्ध समान एक गोल गरेकी छन् ।