लोयल्टी कप अन्तर विद्यालय फुटबल प्रतियोगिता

लोयल्टी कपः आयोजक लोयल्टीको दोहोरो जित

काठमाडौं । आयोजक लोयल्टी एकेडेमी ‘बी’ ले १२औं लोयल्टी कप यु-१३ अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको पहिलो दिन आइतबार दोहोरो जित निकालेको छ ।

मण्डिखाटारस्थित घरेलु मैदानमा लोयल्टी ‘बी’ ले सिद्धार्थ बनास्थली र काभ्या स्कुललाई पराजित गरेको हो । उद्घाटन खेलमा सिद्धार्थ बनास्थलीलाई २-०ले पराजित गर्यो । विजयी टोलीका लागि दुवै गोल विंगु थापाले गरे ।

अर्को खेलमा लोयल्टी ‘बी’ ले काभ्यामाथि ९-०को फराकिलो जित निकाल्यो । लोयल्टीका लागि विंगु थापाले पाँच, साहिल राईले तीन र यसुप खनालले एक गोल गरे । दोहोरो जितसँगै लोयल्टी ‘बी’ को क्वार्टरफाइनल पुग्ने सम्भावना बलियो भएको छ ।

अर्को खेलमा चेल्सी वर्ल्डले स्कुलले मनास्लुलाई २-०ले हरायो ।चेल्सीका दर्शित थापा र शंकर शेर्पाले समान एक गोल गरे । रिलयान्स इन्टरनेसनल एकेडेमी र सिद्धार्थ बनस्थलीबीचको खेल १-१ को बराबरीमा टुंगियो ।

प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले विद्यालय खेलकुदले भविष्यका खेलाडी पहिचान गर्न मद्दत पुग्ने बताए ।

लोयल्टीका प्रिन्सिपल विरेन्द्र कुरुम्बाङले स्थापनाकालदेखि नै लोयल्टीले विद्यार्थीको चौतर्फी विकासलाई ध्यानमा राखि खेलकुदसँगै अन्य अत्तिरिक्त क्रियाकलापमा पनि जोड दिदै आएको बताए ।

लोयल्टीका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फेको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सल्लाहकार केदार ढुंगाना, वडा प्रतिनिधिलगायतको उपस्थिति थियो । फागुन ११ गतेसम्म हुने प्रतियोगितामा आयोजक लोयल्टीको दुई सहित १३ टोली सहभागी छन् ।