भेट्रान फुटबल प्रतियोगिता

कुपण्डोललाई भेट्रान फुटबल प्रतियोगिताको उपाधि

काठमाडौं । कुपण्डोल ४० प्लसले प्रथम कुसुन्ती ललितपुर मेयर कप एट ‘’ए साइड भेट्रान फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका वडा १३ द्धारा संयुक्त आयोजित प्रतियोगिताको फाइनलमा कुपण्डोलले फ्रिडम ‘ए’ लाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्यो । पेनाल्टीमा कुपण्डोलका निलेन्द्र देवान, उज्ज्वल श्रेष्ठ र राजु तामाङले गोल गरे । फ्रिडम ‘ए’ का भगवान थापा र विकर्ण श्रेष्ठले गोल गरे भने राजनलाल नेपाली चुके ।

जावलाखेल युथ क्लबको मैदानमा भएको फाइनलको निर्धारित ६० मिनेट २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय सोझै पेनाल्टी सुट आउटबाट गरिएको थियो ।

निर्धारित समयमा कुपण्डोलका लागि  राजु तामाङ र निलेन्द्र देवालले क्रमशः २२ र ५६ औं मिनेटमा गोल गरेका थिए । फ्रिडम ‘ए’ का विकर्ण श्रेष्ठले ३१ औं र राजकुमार घिसिङले ५८ औं मिनेटमा गोल गरेका थिए ।

सर्वोत्कृष्ट खेलाडी राजु तामाङ

उपाधिसँगै कुपण्डोलले १ लाख ७५ हजार रुपैयाँ प्राप्त गर्यो । उपविजेता फ्रिडम ‘ए’ ले ७५ हजार रुपैयाँ पायो ।

ललितपुर महानगरपालिको सहयोगमा भएको प्रतियोगितामा कुपण्डोलका राजु तामाङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । कुपण्डोलकै सुनिल महर्जन उत्कृष्ट रक्षक तथा फ्रिडम ‘ए’ का मुकुन्द थापा उत्कृष्ट गोलकिपर चुनिए ।

विजेतालाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, ललितपुर महानगरपालिका वडा १३ का अध्यक्ष गणेश केसी, कुसुन्ती युवा क्लबका अध्यक्ष निरज खड्कालगायतले पुरस्कृत गरे । 

पुस २४ गतेदेखि सुरु भएको प्रतियोगितामा ३२ टोली सहभागी थिए ।