नेपाल सुपर लिग

रोमाञ्चक फाइनलको अपेक्षामा गिलान

काठमाडौं । ललितपुर सिटी एफसीका प्रशिक्षक इयान गिलानले लगातारको खेलले केही समस्या हुने भए पनि नेपाल सुपर लिग ( एनएसएल) को दोस्रो संस्करणको फाइनलमा आफ्नो शतप्रतिशत दिने बताएका छन् ।  

गिलानले शुक्रबार फाइनलअघिको पत्रकार सम्मेलनमा आफूहरु पनि उपाधि जित्नैका लागि मैदान उत्रिने भएकाले फाइनल रोमाञ्चक हुने अपेक्षा लिएको बताए ।

‘लगातारको खेलले गर्दा केही समस्या छ । टोलीका केही खेलाडी घाइते छन् । पहिलो रोजाइमा परिवर्तन हुनेछ,’ गिलानले भने,‘ हामीले विपक्षीको खेल हेरिरहेका छौ । उनीहरु राम्रो टोली हुन् । आफ्नो शतप्रतिशत दिने छौं । हामी पनि उपाधि जित्ने लक्ष्यका मैदान उत्रिने भएकाले फाइनल रोमाञ्चक हुने आश छ ।’ 

एनएसएलको उपाधिका लागि शनिबार ललितपुरले धनगढी एफसीको सामना गर्नेछ । दुवै टोलीले प्लेअफमा पोखरा थन्डर्सलाई हराउँदै फाइनलसम्म यात्रा तय गरेका हुन् । पहिलो क्वालिफायरमा धनगढीले पेनाल्टी शुटआउटमा ४-३ को जित निकाल्दा दोस्रो क्वालिफायरको अतिरिक्त समयमा ललितपुर २-१ ले विजयी रह्यो ।

यसैगरी ललितपुरका कप्तान अनन्त तामाङ पनि फाइनल खेल कठिन हुने बताउँ छन् ।

‘धनगढीले दिन प्रतिदिन राम्रो प्रदर्शन गरिरहेको छ । उनीहरुले पोखराविरुद्ध उकृष्ट पुनरागमन गर्दै फाइनलको यात्रा तय गरेका थिए ।  पोखरासँग भन्दा धनगढीसँग खेल्न गाह्रो हुनेछ,’ अनन्तले भने‘, हामीले पनि निकै सुधार गरिसकेका छौं । राम्रोसँग आराम गर्न पनि पाएका छैनौं । तर हामी उत्कृष्ट प्रदर्शन गर्नेछौं ।’