नेफ-ऋत कप फुटबल प्रतियोगिता

नेफ-ऋत कपः ओडिसीको विजयी सुरुआत

काठमाडौं । ओडिसी इन्टरनेसनल एकेडेमीले सातौं नेफ-ऋत कप अन्तरविद्यालय जुनियर यु-१६ छात्र फुटबल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेको छ ।

उत्तरभेगीय शैक्षिक मञ्च तथा ऋत एकेडेमीको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा ओडिसीले ओएसिसलाई ३-१ ले पराजित गरेको हो  ।

चावहिल गणेशथान मैदानमा भइरहेको प्रतियोगिताका अन्य खेमा इलियम मेमोरियलले पारामाउन्टलाई ४-२, लिटिल क्लाइम्बरले गणेश हिमाललाई ३-१, सेक्रेड हार्टले तिलिङटारलाई ४-२ र लुम्बिनीले कान्तिपुरलाई २-१ ले हराए । बसुन्धारा नेसनल एकेडेमी (बिएनए) ले अपी स्कुलबाट वाकओभर पायो ।

प्रतियोगिताको उद्घाटन हिसानका केन्द्रीय अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव रमेशकुमार सिलवालले गरे ।

सिक्स ‘ए’ साइड प्रतियोगितामा ६४ टोली सहभागी छन् । प्रतियोगिताबाट उत्कृष्ट २० खेलाडी छनोट गरी डेनमार्कमा जुलाइमा हुने डाना कप यु-१६ फुटबल प्रतियोगितामा सहभागी गराइने छ ।

त्यस्तै प्रतियोगिताको मुख्य प्रायोजक समेत रहेको ऋत एकेडेमीले ३० जना उत्कृष्ट खेलाडीलाई प्लस टु अध्ययन गर्न जनही ६० हजार बराबरको छात्रवृत्ति प्रदान गर्ने ऋतका प्रिन्सिपल आनन्दकुमार यादवले जनाएका छन् ।