नेपाल सुपर लिग

नेपाल सुपर लिगः चितवनविरुद्ध झापाको अप्रत्याशित हार, प्लेअफ सम्भावना कठिन

काठमाडौं । प्लेअफबाट बाहिरिसकेको एफसी चितवनसँग २-० को हार ब्यहोरेपछि झापा एफसीको प्लेअफ सम्भावना कठिन बनेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा रफिक अमिनुको दोहोरो गोलमा नेपाल सुपर लिग(एनएसएल)को दोस्रो सिजनअन्तर्गत झापाले चितवनविरुद्ध अप्रत्याशित हार ब्यहोरेको हो । झापाको हारमा अमिनुसँगै गोलकिपर तथा कप्तान विशाल श्रेष्ठ पनि नायक रहे ।

झापाको हारसँगै प्लेअफ समीकरण रोचक बनेको छ । लिग चरणको सबै खेल खेलेको झापासँग १० अंक छ र उ अंकतालिकाको चौंथो स्थानमा छ । शनिबार वीरगंज युनाइटेड एफसी र साविक विजेता काठमाडौं रेजर्सले आफ्ना खेलमा हार ब्यहोरे मात्रै झापा शीर्ष चारमा अटाउनेछ । एक खेल कम खेलेको वीरगंज ८ अंकका साथ तालिकाको सातौं स्थानमा छ ।

शनिबारको बुटवल लुम्बिनीविरुद्धको जितले वीरगंजलाई प्लेअफ पुर्याउनेछ । त्यस्तै ९ अंकका साथ छैटौं स्थानमा रहेको काठमाडौंले आफ्नो अन्तिम खेलमा ललितपुर सिटी एफसीलाई हराए प्लेअफमा स्थान बनाउनेछ । ललितपुर १० अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । प्लेअफ पुग्न काठमाडौंविरुद्ध उसलाई बराबरीको नतिजा पर्याप्त हुनेछ ।

शुक्रबारको नतिजासँगै चितवनले प्रतियोगिताको सुखद अन्त्य गर्यो । जितसँगै पाँचौं स्थानमा उक्लिएको चितवन यसअघि नै प्लेअफबाट बाहिरिसकेको थियो ।

शुक्रबार झापाविरुद्ध मार्की खेलाडी विमल घर्ती मगरको कर्नरमा चितवनले खेलको सातौं मिनेटमा अग्रता लियो । विमलको कर्नर बल अमिनुसम्म पुग्नुअघि अफ्रिइ अक्वाहले उनलाई हेडमार्फत गोलको मौका मिलाइदिएका थिए । प्राप्त अवसरलाई अमिनुले हेडमार्फत नै पोस्टको दिशा दिए । झापाका गोलकिपर स्टेफन क्युपिकले पाँच खेलपछि पहिलो गोल खाएका हुन् । क्युपिकले यसअघि प्रतियोगिताको दोस्रो खेलमा पोखरा थन्डर्सविरुद्ध गोल खाएका थिए । जतिबेला झापाले पोखरासँग १–१ को बराबरी खेलेको थियो ।

खेलको मध्यतिर होर्गे क्यानिलासले मार्की खेलाडी अञ्जन विष्टको सुन्दु थ्रु पासलाई सदुपयोग गर्न सकेनन् । लेफ्ट साइडबाट अञ्जनले दिएको पासमा कुनै पनि निगरानीमा नरहेका क्यानिलासले टच दिन नसक्दा झापाले बराबरीको अवसर गुमाएको थियो ।

इन्जुरी समयमा झापालाई भाग्यले साथ दिएन । लेफ्ट साइडबाट लक्ष्मण रुचालको क्रसमा अञ्जनको वान टच प्रहार क्रस बारमा लागेर बाहिरियो । यसअघि लक्ष्मणलाई क्यानिलासलाई थ्रु पास मिलाइदिएका थिए ।

खेलको ६१औं मिनेटमा सुमीत श्रेष्ठको शक्तिशाली प्रहारले पोस्टको दिशा लिन नसक्दा चितवनले खतरा टारेको थियो । त्यसको दोस्रो मिनेटमा झापाको गोललाई रेफ्रीले मान्यता दिएनन् । समदर ओकिलोभले २२ यार्ड परबाट गरेको प्रहार चितवनका गोलकिपर विशाल श्रेष्ठले बचाए । तर, नियन्त्रण गर्न नसक्दा कुनै पनि निगरानीमा नरहेका विशाल बस्नेतले हेडमार्फत पोस्टको दिशा दिएका थिए । तर, सहायक रेफ्रीले गोललाई अफसाइडको मान्यता दिए ।

दोस्रो हाफको मध्यतिर वैकल्पिक खेलाडी हरि कार्कीको शक्तिशाली प्रहार विशालले बचाउँदा चितवनले लगातार तेस्रो खतरा टारेको थियो । खेलको ७६औं मिनेटमा अमिनुले दोस्रो गोल गरे । मध्यभागबाट एक्लै बल लगेका अमिनुले सुमीतलाई बिट गर्दै सुन्दर गोल गरे । अमिनुको राइट फुटेड प्रहार क्युपिकले बचाउन सकेनन् ।

निर्धारित समय सकिन आठ मिनेट बांकी छँदा अञ्जनले पेनाल्टीमा चुके । छिरिङ गुरुङबाट फउल भएपछि अञ्जनले टोलीका लागि पेनाल्टी जितेका थिए । त्यसपछि झापाले कुनै पनि अवसर सृजना गर्न नसक्दा चितवनले प्रतियोगिताको दोस्रो जित हासिल गर्यो ।

झापाको एकपछि अर्को अवसरलाई विफल पारेका विशाल खेलको ‘प्लेयर अफ दि म्याच’ चुनिए । शुक्रबार नै भएको पहिलो खेलमा पोखरा थन्डर्स र धनगढी एफसीले १–१ को बराबरी खेलेको थियो । दुवै टोलीले प्लेअफमा स्थान बनाइसकेका छन् ।